Logo

जन्मदर्ता, सिफारिस र नागरिकता एकैदिन, तर छोरी नक्कली



काठमाडौं, ८ चैत्र । रामेछापमा एक महिलाले नक्कली बाबुआमा खडा गरेर नागरिकता लिएकी छिन् । उनले गत चैत्र ३० गते मन्थली नगरपालीका वडा नम्बर ७ निवासी राजमान तामाङ र उनकी श्रीमती एलिना तामाङलाई प्रलोभनमा पारी नक्कली बाबुआमा बनाएर नागरिकता लिएकी हुन् । नागरिकता लिने युवती सोही वडा निवासी भएको बताइएको छ ।

मन्थली–७ का वडा अध्यक्ष भुवनहरि प्रसाईँले नागरिकताको लागि सिफारिस भएको स्विकार गरे । गतल विवरण दिएर नागरिकता बनाएको सुचना थाहा पाएसँगै आफूले उक्त नागरिकता रद्द गर्न जिल्ला प्रसाशनमा निवेदन दिएकोसमेत प्रसाईँले बताए ।

‘वडा नम्बर ७ निवासी एक श्रीमान श्रीमतीले एक युवतीलाई देखाएर उहाँहरुले जन्मदर्ता उहाँहरुको नागरिकता पेश गरेर सिफारिस लानुभयो । बाबुआमाको नागरिकता पनि छ, सनाखत आमा बसेपछि हामीले काम रोक्न हुँदैन भन्ने मान्यताको साथ सिफासिर दिएका हौं । जन्मदर्ताको फाँट सचिवको हो, उहाँले पनि हेरेर गर्नुपथ्र्यो । त्यही दिन जन्मदर्ता गरेर, त्यही दिन सिफारिस र नागरिकता बनाएको हो । यो नागरिकता चैत्र ३० गते बनेको हो । मैले रद्द गरिपाउँ भनेर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको छु,’– वडा अध्यक्ष प्रसाईँले भने ।

साथै, आफूलाई फसाउने नियतले नक्कली नागरिकता बनाउने काम भएको पनि उनले बताए । ‘मैले चिन्ने भनेको बाबुमाआलाई हो । छोराछोरी बाहिरतिर बसेर पढेका हुन्छन् । बाबुमाआको नागरिकता र उनीहरु सनाखत बस्ने भएको आधारमा सिफारिस भएको हो । जिल्ला प्रशासन कार्यालयले अनुसन्धानमा रहेको र नागरिकता खारेज गर्ने बताएको छ,’– उनले भने ।

नागरिकता लिने र दिने दुवै वडा नम्बर ७ कै बासिन्दा रहेको पनि खुलेको छ । युवतीले नक्कली बाबुमाआ बनाएर किन नागरिकता लिईन् भन्ने बारेमा अनुसन्धान भइरहेकोसमेत वडा अध्यक्ष प्रसाईँले बताए ।



प्रतिक्रिया दिनुहोस्