Logo

कुशल र सोमपालको विष्फोटक ब्याटिङमा नेपालले दियो ओमानलाई ३११ रनको कीर्तिमानी लक्ष्य



काठमाडौं, ८ वैशाख । एसीसी प्रिमियर लिग अन्तर्गत जारी खेलमा नेपालले ओमानलाई ३ सय ११ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ । यो योगफल नेपालले बनाएको हालसम्मकै ठूलो योगफल हो ।

दुई ओपनरले रन बनाउन नसके पनि नेपालका मध्य र पुछारक्रमका ब्याटरले शानदार प्रदर्शन गरे । ४.४ ओभरमा रनको खाता खोलेको नेपालका लागि कुशल मल्लले शतक र सोमपाल कामीले अर्धशतक बनाए । कठिन स्थितिमा भीम सार्की र कप्तान रोहितकुमार पौडेलको साझेदारी तथा आरिफ शेख र करण केसीको विष्फोटक प्रदर्शनले नेपालले ऐतिहासिक योगफल बनाउन सक्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १० रन बनाएको हो ।

निक्कै खराब सुरुवात गरेको नेपालको पारी सम्हाल्ने क्रममा कुशल मल्लले कीर्तिमानी शतक प्रहार गर्दै नेपाललाई विशाल योगफलतर्फ लम्काएका हुन् ।

मल्लले ६४ बलको सामना गर्दै १० छक्का र ९ चौक्काको मद्दतमा १ सय ८ रन बनाएर कीर्तिमान कायम राखेका छन्। उनले बनाएको यो स्कोर हालसम्म सबैभन्दा कम समयमा बनाएको यो नै पहिलो कीर्तिमान हो ।

त्यस्तै, सोमपाल कामी ४८ बलमा ६३ रन बनाँउदै नट आउट रहे उनले ९ चौक्का प्रहार गरेका थिए। यस्तै, भीम सार्की ३३, आरिफ शेख २९, कप्तान रोहीतकुमार पौडेल २३, सन्दीप लामिछाने ८ तथा दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए। करण केसी २९ रनमा नट आउट भए।

सुरुवात निक्कै खराब गरेको नेपालले सुरुको २८ बलमा कुनैपनि रन नजोडी ओपनरद्धय कुशल भुर्तेल र आसिफ शेखलाई गुमाएको थियो।

बलिङतर्फ ओमानका आएन शानले २ तथा जतिन्दर सिंह, विलान खांन, काले मुल्लाले समान एक/एक विकेट लिए।



प्रतिक्रिया दिनुहोस्