Logo

उपनिर्वाचनपछि सरकारले पूर्णता पाउँछः रक्षामन्त्री खड्का



काठमाडौं, ८ वैशाख । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले उपनिर्वाचनपछि संघीय सरकारले पूर्णता पाउने बताएका छन् । आज (शुक्रबार) सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खड्काले वैशाख १० मा हुन लागेको उपनिर्वाचनपछि सरकारले पूर्णता पाउने बताएका हुन् ।

साथै, प्रधानन्यायाधीश नियुक्ति लगायतका प्रक्रिया सुरु भइसकेकोसमेत उनले बताएका छन् । ‘यस बीचमा सर्वोच्च अदालतको प्रधानन्याधीशको नियुक्ति, सुनुवाइ समितिको निर्माण, संवैधानिक परिषद्सँगसम्बन्धित ऐन पेश भइसकेको छ । त्यसलाई पनि अघि बढाउने गरी प्रक्रिया अघि बढेको छ,’– उनले भने ।

उनले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली करिडोरलाई प्राथमिकतामा राखिने पनि बताए । ‘अहिले मुलुकको अर्थतन्त्रको अवस्था अप्ठ्यारो छ त्यसका बाबजुत पनि कर्णाली करिडोरको सडकलाई राष्ट्रिय प्राथमिकताको राखेर बहुवर्षीय योजनामा अगाडि बढाउने योजनामा छौं,’– मन्त्री खड्काले भने ।

यसका लागि कर्णालीबाट सङ्घमा प्रतिनिधित्व गर्ने सबै मन्त्रीहरुले प्राथमिकताका साथ काम अगाडि बढाउनुपर्ने उनको भनाइ छ । हाल रत्नराजमार्गको सडकको डिपिआर तयार भइ अगाडि बढाउने काम भएको र वीरेन्द्रनगर तेलपानी भुरीगाउँ सडकलाई पनि प्राथमिकतामा राखेको उनको भनाइ छ ।

कर्णाली र सुदूरपश्चिमलाई सङ्घीय बजेटबाट धेरै पछाडि पार्ने चलन भएको भन्दै अब यी प्रदेशमा बजेटको प्राथमितामा पारिने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot