काठमाडौं, ८ बैशाख । अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारमा हरेक वर्ष साधारण खर्च बढिरहेको र यसलाई निर्ममतापूर्वक न्यून गर्नुपर्ने बताएका छन्।
शुक्रबार अन्तर सरकारी वित्त परिषद्को छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले हरेक वर्ष साधारण खर्च बढिरहेको र यसलाई निर्ममतापूर्वक न्यून गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘अब हाम्रो अगाडि विकल्प धेरै छैन। एउटा विकल्प केन्द्र सरकारमा साधारण खर्च हरेक वर्ष बढिरहेको छ, प्रदेश सरकारले पनि त्यहीलाई पच्छयाइरहेको छ, स्थानीय सरकारमा पनि त्यही प्रवृत्ति देखियो। हामीले साधारण खर्चलाई निर्ममतापूर्वक न्यून गर्नुपर्छ,’ उनले भने, ‘कति दायित्वबाट हट्न नसक्ने विषयवस्तु छन्, तलबभत्ता र सामाजिक सुरक्षामा हामीले प्रतिबद्धता जनाइसकेका छौं, यसबाट हट्नसक्ने अवस्था छैन। यीभन्दा बाहेक जुन हामीले खर्च नगरे पनि हुन्छ, जस्तो, फर्निचर, गाडी, भ्रमणभत्तालगायतमा केन्द्र सरकार र अर्थमन्त्रालयले निर्ममतापूर्वक प्रस्तुत हुनेछ। प्रदेश सरकारले पनि जे छ, त्यसलाई सफा राखेर चलाउनुहोस्।’