काठमाडौं, ९ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्रीका खगराज अधिकारीले आज प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारमा सहभागी भएको नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएसँगै संवैधानिक प्रवाधान अनुसार अधिकारीले विश्वासको मत लिन लागेका हुन् । केन्द्र सरकारमा भएको समीकरण परिवर्तनको प्रभाव सबै प्रदेशमा परेको छ । कुनै नाटकीय परिवर्तन भएकोमा बाहेक गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाउने निश्चित छ ।
कूल ६० सदस्यीय गण्डकी प्रदेश सभामा मुख्यमन्त्री अधिकारीलाई सरकार टिकाउन ३१ मत आवश्यक पर्छ । उनको समर्थनमा एमालेको २२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सांसदमात्रै छन् ।
गण्डकीमा कांग्रेस र माओवादी मिल्दा सरकार बनाउन बहुमत पुग्छ । अहिले माओवादीसँग सभामुख बाहेक ७ जना, कांग्रेससँग २७ जना सांसद रहेका छन् । यो सँगै गण्डकीमा अब कांग्रेस–माओवादीले आलोपालो सरकार सञ्चालन गर्ने निश्चित रहेको छ ।