Logo

शोषण र गरिबीको अन्त्य गर्न कम्युनिष्ट पार्टी स्थापना भएको होः अध्यक्ष नेपाल



काठमाडौं, ९ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा शोषण र गरिबीको अन्त्य गर्न विसं २००६ मा कम्युनिष्ट पार्टी स्थापना भएको बताएका छन् ।

पार्टी निकट युवा सङ्घ नेपालको सहकारी विभागले कम्युनिष्ट पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको ‘सहकारीको वर्तमान अवस्था, अवस्था र चुनौती’ विषयक विचार गोष्ठीमा अध्यक्ष नेपालले जनतालाई अधिकार सम्पन्न बनाउन स्थापित कम्युनिष्ट पार्टी देशमा भएका सबै आन्दोलनमा क्रियाशील रहेको बताए ।

युवालाई सिर्जनात्मक कार्य तथा उत्पादनमा जोड्न सकेमा देश विकास र जनताको समृद्धि कायम हुने उनको भनाई छ । विश्व अर्थतन्त्रमा असर देखा परेको अहिलेको परिस्थितिमा त्यसको असर नेपाली अर्थतन्त्रमा पनि पर्ने चुनौती रहेको उनले बताए । सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको एउटा रुप भएको जनाउँदै अध्यक्ष नेपालले सहकारीले आममानिसको हितमा काम गर्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले यसले मिश्रित अर्थतन्त्रका मान्यताअनुरूप सहकारी, निजी र राज्य सम्मिलित तीन खम्बे अर्थतन्त्रलाई संविधानले पनि अगाडि सारेको बताउँदै आर्थिक सङ्कटको न्यूनीकरण गर्न समाजमा छरिएका ससाना पुँजीलाई एकीकृत गरी ठूलो लगानीका लागि सहकारीले वातावरण निर्माण गर्नुपर्ने विचार व्यक्त गरे । सन् १९३० मा भएको विश्व आर्थिक मन्दी समाधानमा सहकारी क्षेत्रको उल्लेखनीय भूमिका रहेको उनको भनाइ थियो । File Photo/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot