Logo

गठबन्धन संस्कृतिलाई जगेर्ना गर्नुपर्ने आवश्यकता छः प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, ९ बैशाख । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटै पार्टीले बहुमत ल्याएर सरकार बनाउने भन्दा गठबन्धन संस्कृतिलाई जगेर्ना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको दोस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘वर्तमान संविधान र निर्वाचन प्रणालीका आधारमा अहिलेको स्थितिमा कुनै पनि दलले बहुमत ल्याएर सरकार बनाउने सम्भावना धेरै कम छ। त्यसकारण हामीले यो गठबन्धनलाई पाँच वर्ष नै चलाएर यसको माध्यमबाट जनतालाई सेवा दिने चुनौति छ।’

उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई सही बिचार, नीति, कार्यशैली र संस्कारको आधारमा एकतावद्ध गर्ने प्रयासमा एकहदसम्म आफूहरु सफल नै भएको बताए।

उनले विगतका वामपन्थी एकता र ध्रुबीकरणको प्रसंग कोट्याउँदै भने, ‘हाम्रो एकता र ध्रुबीकरणको प्रक्रियालाई नेता–कार्यकर्ता र जनताले उत्साहको साथ अनुमोदन पनि गरेकै हो। हामीले संसार भरका बामपन्थी बिरोधीको घेराभित्र बसेर दुईतिहाई सरकारको नेतृत्व प्रतिस्पर्धाबाट ल्याउने भन्ने सानो कुरा थिएन।’ उनले यसमा कसैलाई दोष नदिई आफूहरुले नै बचाउन नसकेको उल्लेख गरे। अहिले पनि कम्युनिस्ट आन्दोलन जनतामा लोकप्रिय नै रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सही नीति र विचारको आधारमा र भावानात्मक रुपले फेरि पनि एकताको उद्देश्य छोड्नु नहुने उनको धारणा थियो।

उनले बामपन्थी आन्दोलनलाई देशको राजनीतिक आन्दोलनको एउटा मुख्य शक्ति बनाउने उद्देश्यबाट आफूहरु बिचलित नभएको बताए। उनले अगाडि भने, ‘हामी रातदिन यो आन्दोलनलाई कसरी एकताबद्ध बनाएर जाने भन्नेमा लागिरहेका छौं। यसमा सकारात्मक प्रगति पनि भइनै रहेको छ। हामी चाँडै नै एउटा नतिजामा पुग्नेछौं। बामपन्थी आन्दोलनलाई फेरि एकीकृत गर्ने र ध्रुबीकृत गर्नेछौं। विगतदेखि नै विभाजन र टुटफुटबाट शिक्षा लिएर नयाँ आधारमा नयाँ एकता गर्ने बाट नै कम्युनिस्ट आन्दोलन अगाडि बढेको छ। विभाजन भएपछि विभाजन मात्रै र एकता भएपछि एकता मात्रै भन्ने हुँदो रहेनछ। यो नेपालको कम्युनिष्ट आन्दोलनको र विश्व कम्युनिष्ट आन्दोलन दुबैमा लागू हुने कुरा रहेछ। अहिले कम्युनिष्ट आन्दोलन भित्र मात्रै होइन देशको समग्र राजनीति र आर्थिक विकासको प्रक्रियामा पनि विचलनको अवस्था छ। यसले विचार सिद्धान्त मूल्य आदर्शबाट विचलनतिर राजनीति जाला कि भन्ने खतरा पैदा भएको छ। यस्तो बेला बुद्धिजीविबाट हस्तक्षेप बढ्न जरुरी छ। बैचारिक बहस चलाउन जरुरी छ।’



प्रतिक्रिया दिनुहोस्