Logo

तारागाउँ र हायातलाई जवाफ पेश गर्न समय थपियो, मन्त्री किराँती भन्छन् ‘फेरि समय थप गरिने छैन’



काठमाडौं, १० वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारागाउँ विकास समिति र होटल हायातलाई जवाफ पेश गर्न समय थप गरेको छ ।

मन्त्री सुदन किराँतीले गत वैशाख ५ गते तारागाउँ विकास समिति र होटल हायातलाई विभिन्न २७ प्रश्नहरु गरेका थिए । उक्त प्रश्नको जवाफ तीन दिनभित्र दिन भनिएको थियो ।

तारागाउँ र हायतले तोकिएको अवधि जवाफ पेश गर्नका लागि कम भएको भन्दै निवेदन दिएपछि तारागाउँलाई ७ दिन र होटल हायतलाई १५ दिन समय थप गरिएको छ ।

‘हामीले सोधेको प्रश्नहरुको जवाफ तिन दिन भित्र पेस गर्ने भनिएको थियो । सम्बन्धित पक्षबाट तोकिएको समयावधि तयारीकोलागि कम हुने भएको भनी निवेदन दिए अनुसार होटल हायातलाई १५ दिन र तारागाउँलाई ७ दिन थप म्याद दिने निर्णय गरी पुनः पत्रचार गरियो । फेरि समय थप गरिने छैन,’– मन्त्री किराँतीले सामाजिक सञ्जालमा लेखेका छन् ।

सरकारी जमिन उपयोग गरेको होटलले सरकारको स्वामित्वको शेयर घटाएर सम्झौता उल्लङ्घन गरेको भन्दै मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।

‘होटल हयातसँग सम्झौता किन नतोड्ने ? र तारा गाउँ विकास समितिलाई किन विघटन नगर्ने ?’ भन्दै गत वैशाख ५ गते मन्त्री किराँतीले तिन दिन भित्र जवाफ पेस गर्ने गरी होटल हयातलाई २७ र तारा गाउँ समितिलाई २२ प्रश्न सोधेका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot