Logo

श्रीलङ्काबाट एक लाख बाँदर विदेश निर्यात गर्ने सरकारको योजनाको अधिकारकर्मीद्वारा कडा विरोध



एजेन्सी । श्रीलङ्काका कृषिमन्त्रीले एक लाख लोपोन्मुख टोक मकाक (बाँदर) लाई निजी चिनियाँ कम्पनीलाई निर्यात गर्ने योजना बनाएको घोषणा गरेपछि पशु अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेको भ्वाइस अफ अमेरिकाले जनाएको छ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको लोपोन्मुख वन्यजन्तुको सङ्कटको सूचीमा समावेश गरिएको टोक मकाक श्रीलङ्काको संरक्षित प्रजाति होइन। संरक्षणकर्मी र पशु अधिकारकर्मीहरूले चिनियाँ चिडियाखानामा एक लाख बाँदरलाई राख्ने व्यवस्थित चिडियाखाना छन् भन्नेमा आफूहरू विश्वस्त नभएको बताएका छन्। प्रयोगशालामा परीक्षणका लागि बाँदरहरू प्रयोग हुने सम्भावना बढी रहेको उनीहरूको दावी छ।

श्रीलङ्काका अधिकारीहरूका अनुसार श्रीलङ्कामा रहेका करिब ३० लाख टोक मकाकहरूलाई बालीनालीमा क्षति पुर्याउने गरेको भन्दै किसानहरूले उनीहरूको व्यवस्थापनका लागि सरकारी निकायहरूसँग सहयोग माग्दै आएका छन्।

“यो देशमा बालीनालीमा क्षति पुर्याउनुमा टोक बाँदर नै सबैभन्दा बढी जिम्मेवार रहेको र अहिलेसम्म सरकारले यिनीहरूको सङ्ख्या घटाउन गरेका सबै प्रयास असफल भएका छन्,” मन्त्री अमरवीराले भने।

“संरक्षणवादीहरूले यस कदमको आलोचना गरेका छन् र धेरैले जनावरहरूलाई प्रयोगशालामा परीक्षणका लागि प्रयोग गर्न सकिने डर व्यक्त गरेका छन्,” भ्वाइस अफ अमेरिकाले रिपोर्ट गरेको छ।

वन्यजन्तु तथा प्रकृति संरक्षण समाज, सेन्टर फर इन्भाइरोमेन्टल जस्टिस, फेडेरेशन अफ इन्भाइरोमेन्टल अर्गनाइजेसन र र्याली फर एनिमल राइट्स एन्ड इन्भाइरोमेन्ट श्रीलङ्काले गत साता एक वक्तव्य जारी गर्दै चिडियाखानाको ‘विश्वव्यापी मान्यता प्राप्त मापदण्ड’ अनुसार १८ वटा चिनियाँ चिडियाखाना मात्र रहेको दावी गरे।



प्रतिक्रिया दिनुहोस्

Screenshot