Logo

उपनिर्वाचनमा एमाले–कांग्रेसको क्लिनस्विप



काठमाडौं, १३ वैशाख । प्रतिनिधि सभा सदस्य चयनका लागि भएको उपनिर्वाचनमा नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारले तीनवटै निर्वाचन क्षेत्रमा हार व्यहोरेका छन् । चितवन–२ मा भएको उपनिर्वाचनमा भारी मतसहित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने निर्वाचित भए । लामिछानेले ५४ हजार एक सय ७६ मत प्राप्त गर्दा कांग्रेसका जीतनारायण श्रेष्ठ ११ हजार दुई सय १४ मतमा खुम्चिए । त्यसैगरी एमालेका रामप्रसाद न्यौपाने १० हजार नौ सय ३६ मतसहित तेस्रो स्थानमा रहे ।

त्यसैगरी, विशेष चासोका साथ हेरिएको निर्वाचन क्षेत्र तनहुँ– १ हो । गत मंसिरमा भएको आम निर्वाचनमा निर्वाचित भएका नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो । उक्त क्षेत्रको उपनिर्वाचनमा कांग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका डा. स्वर्णिम वाग्ले निर्वाचित भए । वाग्लेले ३४ हजार नौ सय १९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरे । त्यसैगरी एमालेका उम्मेदवार सर्वेन्द्र खनाल आठ हजार चार सय ८८ मतसहित तेस्रो स्थानमा रहे ।

त्यसैगरी बारा–२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव निर्वाचित भए । यादवले २८ हजार चार सय १५ मत प्राप्त गरेर निर्वाचित हुँदैगर्दा उनका प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत प्राप्त गरे । त्यसैगरी एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल १० हजार दुई सय १६ मत सहित तेस्रो स्थानमा रहे ।

तीनवटा निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा सबै क्षेत्रमा एमाले तेस्रो स्थानमा रह्यो । कांग्रेसले गठबन्धनका पाँच दलको समर्थन पाउँदा पनि एक निर्वाचन क्षेत्रमा पनि आफ्नो उम्मेदवार जिताउन सकेन । File Photo/Reporters Nepal 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot