Logo

माओवादी नेताको स्विकारोक्तिः ‘हामीले जनतालाई ठूला सपनामात्रै देखायौं’ (भिडियोसहित)



काठमाडौं, १३ वैशाख । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता एवं कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पुराना र ठूला राजनीतिक दलले विश्वास गुमाएको टिप्पणी गरेका छन् ।

हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनताले निर्वाचनमार्फत पुराना र ठूला राजनीतिक दलको विकल्प खोजेको बताए । साथै, यस बारेमा सबै राजनीतिक दलले गम्भीर समीक्षा गरेर सच्चिन आवश्यक रहेको पनि उनको भनाई छ ।

‘पुराना र ठूला राजनीतिक पार्टीहरुप्रति जनताको विश्वास थियो । अहिले अब विश्वास किन गुम्यो भनेर समीक्षा गर्न जरुरी छ । मान्छेले विकल्प खोज्छ, देशले विकल्प खोज्छ । हिजो राणाको विरुद्धको विकल्प, पञ्चायतको विकल्प लगायतका विकल्प खोज्दै आएका छन् जनताले,’– उनले भने ।
अहिले जनता ठूलो समस्यामा रहेको उनको भनाई छ । जनसरोकारका विषय शिक्षा, स्वास्थ्य, रोजगारीका विषयमा ठूला राजनीतिक दलले केही गर्न नसकेको उनको आरोप छ ।

‘जनताका ठूला समस्याहरु छन् । देशमा विकास भएको छैन । गरिबी, बेराजगार छ । शिक्षा, स्वास्थ्य जस्ता जनसरोकारका तमाम विषयमा नेपालका राजनीतिक पार्टीहरुले केही गर्न सकेनन् सत्तामा रहँदा पनि । त्यसैले अहिले कसैले हामी गर्छौं भनेर कसैले भनिहाल्यो भनेपनि यसले गरिहाल्छ कि भन्ने जनताको विश्वास हो,’– उनले भने ।
माओवादीले जनतालाई देखाएको सपना पुरा गर्न नसकेको उनको स्विकारोक्ति छ । आफूहरुले जनतालाई सपना देखाए पनि संविधान बनाएर कार्यान्वयनको क्रममा केही गर्न नसकेको उनको भनाई छ ।

‘जनताको ठूला सपना छन, तीब्र आकांक्षा छन् । त्यो सपना जनताले पूरा गरेको देख्न चाहन्छन् । हामीले जनतालाई धेरै ठूला सपना देखायौं । जे सपना हामीले जनतालाई देखायौं त्यो पूर्णरुपमा कार्यान्वयन गर्न सकिएन । जसका कारण माओवादी पार्टी प्रतिको विश्वास पनि घट्यो । संविधान बनाए, जनताको मुद्दा र अधिकारका लागि लडे, अधिकार दिलाए । तर, अहिले जनताको आश्यकता भनेको विकास, समृद्धि, सुशासन र गरिबीको अन्त्य हो । यो पूर्णरुपमा पुरा गर्न हामी सत्तामा जाँदाखेरी सकेनौं । जसका कारणले माओवादी पार्टीप्रति अविश्वास पैदा गरायो,’– उनले भने ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot