Logo

रास्वपा सांसद भन्छिन्ः ‘जनताको यतिधेरै माया पाउने काम सजिलो होइन’



काठमाडौं, १३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा.चन्दा कार्कीले जनताले उपनिर्वाचनमा दिएको मतको आधारमा आफूहरुलाई थप जिम्मेवार बनाएको बताएकी छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनतालेको भारी मतले चुनौति पनि थपेको बताएकी हुन् ।

‘सात आठ महिनाको दौरानमा राष्ट्रिय स्वतन्त्र पार्टीले २० वटा सांसद लिएर संसद् गयो । चौथो शक्तिको रुपमा उदय भयो भने जनताहरुले धेरै माया गरे । हिजोमात्रै हामले ठूलो जित हासिल गर्यौं । हाम्रो पार्टीका सभापतिले जुन हिसाबको मत ल्याउनु भयो, आफ्नो रेकर्ड पनि तोड्नु भयो, राजनीतिको रेकर्ड पनि तोड्नुभयो । जनताले जुन हिसाबले मत दिए, त्यति माया पाउने सजिलो काम होइन,’– उनले भनिन् ।

जनताको अपेक्षा र मायालाई सम्मान गरेर आफूहरु खरो उत्रिनुको विकल्प नभएको उनको भनाई छ । जनताको माया पाउनु ठूलो कुरा भएकोसमेत उनले बताईन् । ‘जनता पनि आज चलाख छन्, दुनियाँ देखेका छन् । जनताहरुले माया यत्तिको गर्नु भनेको ठूलो कुरा हो । तर, त्यो भन्दा ठूलो कुरा मलाई लागेको यो हाम्रो लागि चुनौति हो । अब हामीले त्यो जनताको अपेक्षा र मायामा खरो उत्रिन सक्छौं कि सक्दैनौं भन्ने चुनौतिको रुपमा रहेको छ,’– उनले भनिन् ।

यसअघि पनि आफूहरु जनतालाई डेलिभरी दिनका लागि सरकारमा गएको उनको दाबी छ । अहिले पनि जनसरोकारका विषयमा डेलिभरी दिन सकिने मन्त्रालयको नेतृत्व पाएको खण्डमा आफूहरु सरकारमा सहभागी हुनपनि सक्ने उनले संक्रेत गरेकी छन् ।

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जाने सम्भावनाका बारेमा पार्टीमा छलफल भइनसकेको उनले बताईन् । पार्टीको संसदीय दल र केन्द्रीय कमिटीभित्र छलफल गरेर निर्णयमा पुग्ने उनले बताईन् । सरकारमा जानका लागि आफूहरुले गृहमन्त्रालयको अडान नलिएको उनको भनाई छ । जनतालाई डेलिभरी प्रदान गर्ने गरी सरकारमा जान पाएको खण्डमा आफूहरु तयार रहेको उनले बताईन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot