Logo

घण्टीले मतको सुनामी ल्याउँदा उपचुनावमा राप्रपाको हरिविजोग !



काठमाडौं,१३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले मतको सुनामी ल्याउँदा आफुलाई राजावादी र हिन्दुवादी भनेर चिनाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भने वैशाख १० को उपनिर्वाचनमा हरिविजोग भएको छ ।

गएको संसदीय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रत्यक्षतर्फ सात र समानुपातिकमा सात गरि कुल १४ सिटसहित संसद्को पाँचौ ठुलो दल बन्न सफल भएको थियो ।

संसदीय निर्वाचनमा पाएको मतलाई लिएर धेरैले आंकलन गरेका थिए,अब राप्रपा देशको वैकल्पिक शक्तिको रुपमा उदाउने छ । २०७४ सालको निर्वाचनमा झापा -३ बाट पार्टी महामन्त्री राजेन्द्रप्रसाद लिङदेन विजयी बन्दा अन्य निर्वाचन क्षेत्रमा कतैपनि जित हात परेको थिएन । यतिसम्मकी राप्रपा त्यो बेला राष्ट्रिय पार्टी समेत बन्न सकेन ।

२०७८ को मंसिरमा सम्पन्न पार्टीको महाधिवेशनमा कमल थापालाई हराउँदै अध्यक्षमा लिङदेन निर्वाचित भएपछि पार्टीमा युवाको आकर्षण बढ्दो देखिएको थियो । फलस्वरुप मंसिरको निर्वाचनमा राप्रपाले झापा- ३ ( राजेन्द्र लिङदेन ४०,६६२),चितवन -३ (विक्रम पाण्डे ३५,०५५),मकवानपुर -१ (दीपक बहादुर सिंह २७,८१६) रुपन्देही -३ (दीपक बोहोरा ३६,७१७) नवलपरासी पश्चिम -२ (धुब्रबहादुर प्रधान ३४,७६४ )जुम्ला (ज्ञानबहादुर शाही २२,८१९) र बाँके -२ (धवल शमसेर जबरा २९,५७७) गरि सात सिट जितेको राप्रपा एक दर्जन निर्वाचन क्षेत्रमा निकटतम प्रतिस्पर्धीको रुपमा देखिएको थियो ।

तर उपनिर्वाचनसम्म आईपुग्दा राप्रपाले संसदीय निर्वाचनमा पाएको क्रेजलाई जोगाउन त सकेन तर त्यो बेलाको मतलाई समेत गुमाएको छ ।
राप्रपाले बारा २ मा मंसिरको निर्वाचनमा उम्मेद्वार बनेका सोनालप्रसाद तेलिले ४५९ मत ल्याएका थिए । अहिलेको उपनिर्वाचनमा पनि उनै तेली उम्मेद्वार बनेर जम्मा ११९ मत ल्याए । सत्ता गठबन्धन र रास्वपाको मतको सुनामीको अगाडि तेलिले पानी सम्म भन्न पाएनन् ।

तनहुँ १ मा पनि राप्रपा उम्मेद्वार शोभा गुरुङको अवस्था उस्तै रहेको छ उनले जम्मा २१८ मत प्राप्त गर्दै लज्जास्पद रुपमा हार व्यर्होन पुगेकी छन् । गत निर्वाचनमा भने राप्रपा उम्मेदवार विमल घर्तीले २ हजार मत कटाएका थिए ।

बारा -२ र तनहुँ -१ को भन्दा भिन्न परीस्थिती चितवन -२ मा पनि बन्न सकेन राप्रपाका लागि । राप्रपाबाट संसदीय चुनावमा उम्मेदवार रहेका रविन अधिकारीले ९५५ मत पाउदा उपनिर्वाचनका उम्मेद्वार जीवलाल पुरीले ३७५ मत ल्याएका छन् ।

उपनिर्वाचनमा राप्रपा उम्मेद्वारले सम्मानजनक मत हाँसिल गर्न नसकेपनि जमानत जोगाउने अपेक्षा पार्टी नेतृत्वले गरेको थियो । तर नेतृत्वको अपेक्षा विपरीत रास्वपाले मतको सुनामी ल्याउँदा नेतृत्वको अपेक्षा उल्टयाउँदै तीनै निर्वाचन क्षेत्रमा राप्रपाले आफ्नो जमानतसमेत गुमाएको छ ।



प्रतिक्रिया दिनुहोस्