Logo

लुम्बिनीमा मुख्यमन्त्रीको दाबी पेश गर्दै डिल्ली बहादुर चौधरी



काठमाडौं, १४ वैशाख । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आजसम्मको समय सीमा दिएर मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान गरेका छन् । नेकपा (एमाले) बाट मुख्यमन्त्री नियुक्त भएका लिला गिरीले दोस्रो पटक प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ (२) बमोजिम बहुमतको सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखले तोकेको समय सीमाभित्रै नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले मुख्यमन्त्रीको दाबी पेश गर्ने भएका छन् । चौधरीले माओवादी केन्द्रसहित छ दलको समर्थनमा सरकार गठनका लागि दाबी पेश गर्न लागेको लुम्बिनी कांग्रेस सचेतक निमा गिरी बताउँछिन् ।

‘मुख्यमन्त्रीको दाबी गर्ने आज अन्तिम दिन हो । प्रदेश प्रमुखले दुई दिनको समय दिएर दाबी पेश गर्न आह्वान गर्नुभएको थियो । नेपाली कांग्रेसको तर्फबाट डिल्ली बहादुर चौधरी मुख्यमन्त्री बन्नुहुन्छ । माओवादी केन्द्रसँग यो बारेमा सहमति बनिसकेको छ,’–रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै सचेतक गिरीले भनिन् ।

प्रदेश प्रमुख शेरचनले बहुमतको सरकार बनाउनका लागि आह्वान गरिरहँदा एमालेले भने संवैधानिक व्यवस्था अनुसार १६८(३) बमोजिम प्रदेश सभाको सबै भन्दा ठूलो दलले सरकार गठन गर्न पाउनुपर्ने दाबी गर्दै आएको छ । लुम्बिनीमा २९ सांसदसहित एमाले ठूलो दल रहेको छ । बहुमतको सरकार गठन भएका कानुनी उपचार खोज्ने एमालेले चेतावनीसमेत दिइसकेको छ ।

तर, यस भन्दाअघिका नजिर र शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बेला सर्वोच्च अदालतले गरेको फैसलाको आधारमा उपधारा २ को औचित्य लुम्बिनी प्रदेशमा अझै बाँकी रहेको कांग्रेस सचेतक गिरीको दाबी छ ।

‘१६८ (३) उहाँहरुले उठाउने कुरा हो । उहाँहरुकै समयमा पनि जतिबेला शंकर पोखरेल दुई पटक मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो, त्यतिबेला पनि १६८ को धारा २ नै प्रयोग भएको थियो । पुराना नजिरहरु छन्, शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुनेबेला सर्वोच्चको नजिरहरु छन्, त्यसको आधारमा उपधारा २ को औचित्य नसकिँदै उपधारा ३ मा प्रवेश गर्ने कुरा हुँदैन । त्यसकारण उपधारा २ नै अहिलेका लागि उपयुक्त हो भन्ने हाम्रो निष्कर्ष हो,’– उनले भनिन् ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्