Logo

रमेश खरेल भन्छन् ‘रास्वपाका २१ भाई बहिनी सदन तताउनुस्, हामी सडक तताउँछौं’



काठमाडौं, १४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रमेश खरेलले भ्रष्टाचारीलाई उन्मुक्ति दिने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन गर्न लागिएको भन्दै आपत्ति जनाएका छन् । सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि मुद्दा चलाउने समयावधि ५ वर्ष मात्र राख्न लागेको भन्दै उनले भ्रष्टाचारमा डुबेकाहरुलाई जोगाउने काम हुन लागेको आशंका व्यक्त गरेका हुन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका २१ सांसदहरुलाई यस विषयमा चनाखो हुन पनि आग्रह गरेका छन् । रास्वपा सांसदलाई उनले संसद् तपाउन अपील गरेका छन् । साथै, आफूहरुले सडक तताउने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘रास्वपाका २१ भाई बहिनीहरु चनाखो हुनोस, बेईमान र भ्रष्टहरु अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न विधेयकमा सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि मुद्दा चलाउने समयावधि ५ वर्ष मात्र राख्ने र दशकौं देखि भ्र्ष्टचारमा चुर्लुम्म डुबेकालाई पखाल्ने सुरसारमा लागेका छ्न। तपाईहरु सदन तताउनोस् हामी सडक तताउँछौ। जय घंन्टी जय सुशासन,’– सामाजिक सञ्जालमा उनले लेखेका छन् ।

खरेल गत वैशाख १० गतेको उपनिर्वाचनमा बारा–२ मा रास्वपाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot