काठमाडौं, १४ वैशाख । सुर्खेतको वीरेन्द्र नगरपालिका–३ का वडा अध्यक्ष विनोदसिंह विष्टले कर्णाली प्रदेश मुख्यमन्त्रीको कार्यालयमा कार्यरत उपसचिव नेत्र बहादुर कार्कीलाई मुक्का प्रहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ ।
उक्त घटना केही समय पहिलाको भएपनि केही दिनअघिदेखि मात्रै सामाजिक सञ्जालमा भाईरल भएको हो । भिडियोमा वडा अध्यक्ष विष्ठले उपसचिवलाई एकै मुक्कामा लडाउँछन् । जनप्रतिनिधिले नै कानुन हातमा लिने काम गरेको भन्दै अहिले सामाजिक सञ्जालमा सर्वत्र विष्टको आलोचना भइरहेको छ ।
घटनाको वास्तविकता बुझ्न खोज्दा वडा अध्यक्ष विष्ट उक्त घटना आफूले मानसपटलबाटै निकालिसकेको र केही थाहा नै नभएको बताउँछन् । बाँकी सुचना चाहिएमा प्रहरीसँग बुझ्नसमेत उनले आग्रह गरे । उपसचिव कार्की नाताले आफ्नो मामा भएको उनी बताउँछन् ।
‘यो पुरानो विषय वस्तु हो । त्यसबारेमा अहिले जानकारी छैन । मैले मानसपटलबाट नै निकालिसकेको कुरा हो । उपसचिवज्यू मेरो आफन्तै मान्छे हो, मामा हो । जिल्ला प्रशासनमा सोध्नुहोला । जिल्ला प्रहरी र प्रदेशको अर्थमन्त्रालयमा गएर मेलमिलाप भइसक्यो । उहाँले आत्मालोचना गर्नुभयो, माफी माग्नु भयो । त्यो बारेमा मलाई केहीपनि जानकारी छैन । मैले पिटेँ, पिँटिन भन्ने कुरा प्रहरीलाई थाहा होला, प्रहरीलाई सोध्नुस्,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग आक्रमक भई कुराकानी गरेका वडा अध्यक्ष विष्टले भने ।
https://www.facebook.com/watch/?v=560861362844368