एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार आफ्ना युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँग चीन-युक्रेन सम्बन्ध र युक्रेन सङ्कटका विषयमा टेलिफोन वार्ता गरेका छन्।
युक्रेन सङ्कट राष्ट्रपति सीले युक्रेन सङ्कट समाधानका निम्ति वार्ता नै एकमात्र व्यावहारिक उपाय भएको बताउँदै आणविक युद्धमा कसैको जित नहुने धारणा राखेका छन्।
चीनले युरेसियाली मामिलासम्बन्धी चिनियाँ सरकारको विशेष प्रतिनिधिलाई युक्रेन र अन्य देशको भ्रमण गर्न पठाउने र जारी सङ्कटको राजनीतिक समाधानका लागि सबै पक्षहरूसँग गहिरो समन्वय गर्न पनि उनले बताए। युक्रेन सङ्कटमा चीन सधैं शान्तिको पक्षमा उभिएको र यसको मुख्य अडान शान्तिको लागि वार्तालाई सहज बनाउनु रहेको पनि राष्ट्रपति सीको धारणा छ ।
उनले चार बुँदे प्रस्तावहरूमा अन्तरराष्ट्रिय समुदायले मिलेर गर्नुपर्ने चारवटा कुरा र तीनवटा अवलोकनहरू उल्लेख गरे । सो प्रस्तावनामा चीनले युक्रेन सङ्कटको राजनीतिक समाधानबारे आफ्नो स्थिति सार्वजनिक गरेको पनि उल्लेख गरेका छन् । ‘चीनले न त युक्रेन सङ्कट सृजना गरेको हो न त यो सङ्कटको पक्षमा छ’ सीले भने ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्य र जिम्मेवार प्रमुख देशको रूपमा चीन चुपचाप बस्दैन- उनले भने । सबै पक्षले युक्रेन सङ्कटलाई गम्भीरतापूर्वक विचार गर्ने र वार्ताको माध्यमबाट युरोपमा दिगो शान्ति र सुरक्षा ल्याउने उपायहरू संयुक्त रूपमा खोज्ने आशा पनि सीले व्यक्त गरे ।