Logo

संसद्मा कांग्रेस सांसद खतिवडाको प्रश्न– ‘कोइरी निलम्बित नहुनुको कारण के हो ?’



काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले एमाले सांसद लक्ष्मी महतो कोइरीको बारेमा कुरा उठाउँदा व्यक्तिगत कुरालाई लिएर आफूमाथि टिप्पणी भएको भन्दै आपत्ति जनाएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफू सांसद हुनुको नाताले सरकारको ध्यानाकृष्ट गराउँदा व्यक्तिगत कुरामा टिप्पणी भएको भन्दै आपत्ति जनाएका हुन् ।

‘लक्ष्मी महतो कोइरीको बारेमा मैले कुरा उठाउँदाखेरी एक जना माननीयले मेरो व्यक्तिगत कुरामा पनि चर्चा परिचर्चा गर्नुभयो । मैले एउटा सांसदको नाताले सरकारको ध्यानाकृष्ट गराएको थिएँ,’– सांसद खतिवडाले भने ।

नेपाल प्रहरीले संसद् सचिवालयलाई पत्र काटेर कोइरीलाई उच्च अदालत जनकपुरको फैसला कार्यान्वयनका लागि थुनामा राख्नुपर्ने भन्ने जानकारी गराएपनि उनलाई संसदीय समितिमा राखेको प्रति खतिवडाले आपत्ति जनाए ।

‘अहिले पनि नेपाल प्रहरीले संसद् सचिवालयलाई चिठी लेखेर उहाँ उच्च अदालत जनकपुरका अनुसार उहाँ थुनामा बस्नुपर्ने भनेर महासचिवलाई चिठी लेखेको र त्यो चिठी आजसम्म कार्यान्वयन नभएर लगातार १० पटक अनुपस्थिति हुँदा पनि संसदीय समितिमा राखेको भनेर सुन्नामा आएको छ,’– उनले भने ।

साथै, संसद्मा सभामुखको रोल सत्ता पक्ष र प्रतिपक्षमा नभइ सम्पूर्ण सदनप्रति हुन्छ भन्ने आफूहरुले विश्वास लिएको उनको भनाई छ । एमाले सांसद कोइरीलाई निलम्बन गर्नपर्ने हो कि हैन संसद्मा जानकारी गराउन पनि उनले माग गरेका छन् ।

‘संविधानको धारा ७९ (घ), प्रतिनिधि सभा नियमावली अनुसार उहाँ निलम्बित हुनपर्ने हो कि होइन् ? आजसम्म उहाँ निलम्बित नहुनुको कारण के हो ? संसद्लाई जानकारी गराइयोस्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot