Logo

सभामुख घिमिरे निर्वाचित भएको क्षेत्रमा हात्ति आतंक, विश्वप्रकाशले गराए ध्यानाकार्षण



काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले झापाको बुद्ध शान्ति गाउँपालिकामा ‘हात्ति आतंक’ बढेको भन्दै संसद्को ध्यानाकार्षण गराएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद शर्माले खारखोलाका ७० वर्षीय भीमलाल भट्टराई हात्ति आतंकबाट मारिएको भन्दै उनले संसद्को ध्यानाकार्षण गराएका हुन् ।

‘यहाँ (सभामुख देवराज घिमिरे) निर्वाचित हुनुभएको निर्वाचन क्षेत्रमा बुद्ध शान्ति गाउँपालिका पनि पर्दछ । त्यो गापाको वडा नं ५ को खारखोला अहिले शोकमग्न छ । ७० बर्षका भीमलाल भट्टराई हात्तीको आक्रमणमा मारिनु भएको छ । केही समयदेखि त्यो भेगमा हात्तीको आतंकले राज्य चलाइरहेको छ,’– उनले भने ।

एक वर्षभित्र नै उक्त वडामा हात्ति आतंकका कारण तीन जनाले ज्यान गुमाउन परेको उनले बताए । सांसद शर्माले सिमा पारिबाट हात्ती प्रवेश गर्ने मेची नदिको किनारमा तटबन्ध निर्माणका लागि विशेष प्राथमिकता दिएर बजेट छुट्याउन आग्रह गरेका छन् । साथै, पीडितलाई तत्काल राहत उपलब्ध गराउन पनि उनले सरकारको ध्यानाकार्षण गराएका छन् । बाहुनडाँगीलाई चोट लाग्दा बानेश्वरलाई दुख्नुपर्ने हात्ति पीडित नागरिकको आग्रह भएको पनि उनले बताएका छन् । जनताको यो पीडालाई दीर्घकालीन रुपमा गम्भीरताका साथ समाधान खोज्न पनि उनले सरकार समक्ष आग्रह गरेका छन् ।

‘हात्ती पीडित नागरिकको आग्रह छ– बाहुनडाँगीलाई चोट लाग्दा बानेश्वरलाई दुख्नुपर्छ । जनताको यो गम्भीर पिडाप्रति विशेष गम्भीरतासाथ सरकारले दीर्घकालीन हल खोज्नुपर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्