Logo

कोशी प्रदेशकी पूर्वसांसद खातुन जेल चलान



काठमाडौं,१६ वैशाख । सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर भएकी कोशी प्रदेशकी पूर्व सांसद गुलेफन खातुन जेल चलान भएकी छन् ।

फरारको सूचीमा रहेकी खातुन शुक्रबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेकी थिइन् । आत्मसमर्पण गरेसँगै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

उनलाई ‘सरकारी सहीछाप र दस्तखत किर्ते’ मुद्दामा जिल्ला अदालत मोरङले एक वर्ष कैदको फैसला गरेको थियो । सरकारी सहिछाप किर्ते मुद्दामा २०७४ वैशाख ३१ गते तत्कालीन जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले सांसद खातुन सहित उनका श्रीमान् शेख शिलबर मियाँ, तत्कालीन गाविसका कर्मचारी विजय कामत र दिपचन्द मण्डललाई एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना सुनाएको थियो ।

मोहीको जग्गाका लागि लिएको सिफारिसमा तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकारी छाप किर्ते गरेको उनलाई आरोप लागेको थियो । तत्कालीन गाविसका कर्मचारी कामत र मण्डललाई अड्डाका कर्मचारी भएका कारण थप दुई वर्ष सजायको फैसला भएको छ ।

साबिक कदमाह गाविस–२ ९हाल कटहरी –९० मा मधुसुधनराज पाण्डेको तीन बिगाहा १० कट्ठा जग्गामा खातुनका ससुरा शेख धाइका मियाँको मोही हक थियो ।

सो मोही जग्गामा तीन विगाह १० कट्ठा मोही जग्गा पाउनका लागि २०७१ चैत ४ गते तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवको सिफारिस ल्याएकी थिइन् । एउटै दर्ता नम्बरका दुई वटा सिफारिस लिएका कारण किर्ते मुद्दा परेको थियो । उजुरी परेपछि जिल्लाको फैसला विरुद्ध उनी २०७४ भदौमा उच्च अदालत विराटनगर गएकी थिइन् ।

उच्च अदालत विराटनगरले २०७४ पुस ९ गते खातुनलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

एमालेबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएकी पूर्वसांसद गुलेफन खातुन लामो समयदेखि फरार रहेकी थिईन ।   file photo 



प्रतिक्रिया दिनुहोस्

Screenshot