
काठमाडौं, १६ बैशाख । बहिर्गमित जनमुक्ति सेना नेपालका इन्चार्ज असिम आङवुहाङ्ग लिम्बूले सिङ्गो यो देशको र अयोग्य लडाकूहरुको विरोध गर्नेहरुको भविष्य हामीले निर्धारण गरिदिएको दाबी गरेका छन्।
शनिबार बहिर्गमित जनमुक्ति सेना नेपालले रिपोर्टर्स क्लब नेपाललमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै इन्चार्ज लिम्बूले सिङ्गो यो देशको र अयोग्य लडाकूहरुको विरोध गर्नेहरुको भविष्य हामीले निर्धारण गरिदिएको दाबी गरेका हुन्।
इन्चार्ज लिम्बूले आफूहरुको संघर्षको यात्रा अझै नटुङ्गिएको बताए। र, राज्यले अहिले दिन लागेको दुई लाख रकमले केही पनि नहुने उनको भनाई छ। सांसदहरुले हिजो (शुक्रबार) को संसद् बैठकमा अयोग्य लडाकुको विषय चर्चामा ल्याइएको भन्दै आफूहरु संयम हुँदाहुँदैपनि प्रतिकारको जवाफ दिन बाध्य नबनाउन उनले चेतावनी दिए।
‘सिङ्गो यो देशको र तिम्रो भविष्य हामीले निर्धारण गरिदिएको हो। यो औकात र समय हामीले निर्माण गरिदिएको हो। ताकी हामीले हाम्रो योगदान र चेतनाले ल्याएको जुन सपनाले हुम्ला, जुम्लामा ठूलो स्कुल बन्नुपर्द्छ, ठूलो अस्पताल बन्नुपर्छ भन्ने त्यो हाम्रो सपना तिम्रो लागि गलत भयो होला। दूरदराज मनाङ् अनि मुस्ताङमा ठूला भवनहरु, सरकारी उपयोगी भवनहरु निर्माण गरिदिनुपर्छ भन्ने कुरा र ताप्लेजुङको घोम्सा खोलामा रोड पुर्याउनुपर्छ भन्ने कुराको संस्कारलाई स्थापित गर्न त्यो ब्यवस्था गलत हो त? यो ब्यवस्था गलत हो भने तिमी आँफै स्वयं गलत हो,’ उनले भने।
उनले अयोग्य लडाकुको एजेन्डालाई बोकेर डलर खानेहरु यो देश छोडेर लागे हुने र आफूले गरेको योगदानलाई सम्मान गर्नुपर्ने बताए। आफूहरुको पक्षको फैसला कार्यान्वयनको पक्षलाई रोक्न खोज्नु नेपालमा फेरि युद्ध निम्त्याउनु भएको भन्दै सचेत रहन उनले आग्रह गरेका छन्।
अहिलेपनि आफूले आफूलाई संयम अपनाईराखेको र संयमता गुम्यो भने नराम्रो हुने उनको चेतावनी छ। उनले भने,‘हाम्रो विरुद्धमा खुलेर आए त्यसको प्रतिकार गर्न प्रत्येक जिल्लामा हामीले निर्देशन दिनेछौं।’ उनले अहिले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पूर्वमा खेदिएको छ त्यसैगरी देशमा परिवर्तनका विरोधीहरुलाई खेद्नुपर्ने अवस्था देखिनसक्ने बताए।
सरकारले दिन लागेको दुई लाख कसैको व्यक्तिगत नभएको भन्दै उनले राज्यको तर्फबाट आफूहरुप्रति सम्मान भएको उल्लेख गरे। कतिपयले भने आँफैले फाइल उठाएको अनि आँफैले गरेका निर्णय आफ्नो स्वार्थअनुसार वितरण नहुँदा अहिले विरोध गरिरहेको पनि उनको आरोप छ। अहिलेको यो उपलब्धि उल्टिए बहिर्गमित जनमुक्ती सेनाहरुलाई प्रत्येक जिल्लामा तयारी अवस्थामा बस्न उनले निर्देशन दिए।