Logo

युवा संघद्धारा प्रधानमन्त्री ‘प्रचण्ड’को पुत्ला दहन(तस्बिरहरू )



काठमाडौं,१६ वैशाख । मुलुकमा शान्ति सुरक्षा कायम गर्न नसकेको र अयोग्य लडाकुलाई अनावश्यक रकम दिन लागिएको भन्दै नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघका नेता–कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् ।

शनिबार काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्दै उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुतला दहन गरेका हुन् । अयोग्य लडाकुलाई दुई लाख रुपैयाँका दरले राहत दिने गरी ल्याइएको कार्यविधि तत्काल खारेज गर्न उनीहरूले दबाब दिए ।

अयोग्य लडाकुका नाममा राजनीतिक अभिष्ट पूरा गर्ने गरी ल्याइएको कार्यविधि तत्काल खारेज नगरे आन्दोलनको आँधीबेहरी सिर्जना गरी सरकारलाई घुँडा टेकाउन बाध्य हुने युवा संघका अध्यक्ष क्षितिज थेबेले चेतावनी दिए ।

राष्ट्रिय युवा संघ, नेपालले शुक्रवार (हिजो)अर्थमन्त्री डा। प्रकाशशरण महतसँग भेट गरी अयोग्य लडाकुलाई राहत स्वरूप २ लाखका दरले दिने गरी ल्याइएको कार्यविधि खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको थियो ।

उनले भने, ‘आम नेपालीहरूको छातीमा बज्रपात गर्दै देशको ढुकुटी रित्याउँदै, देशको ढुकुटीलाई नीतिगत भ्रष्टाचार गरेर पार्टीलाई अर्बौँ रकम खन्याउने, लडाकुको नाममा एउटा व्यक्ति पोस्ने, अर्बौँ घोटाला गर्ने र आफ्नो घृणित राजनीतिको अभीष्ट पूरा गर्ने योजनाले यो सरकार अगाडि बढेको छ ।

यो अयोग्य लडाकुहरूको नाममा अर्बौँ घोटाला हुने गरी ल्याइएको कार्यविधि फिर्ता हुँदैन, खारेज हुँदैन, तबसम्म यो सरकारलाई हामीले आज ध्यानाकर्षण गराएका छौँ । हिजो ज्ञापन पत्र बुझाएका थियौँ । यदि यो कुचेष्टा अगाडि बढाउन खोज्यो भने देशभर आन्दोलनको आँधीबेहरी ल्याएर यो सरकारलाई घुँडा टेकाउन राष्ट्रिय युवा संघ नेपाल जान्दछ ।’

p

photo by : mukunda kalikote / reports nepal 



प्रतिक्रिया दिनुहोस्