Logo

आकर्षणको केन्द्रमा महावीर पुन



काठमाडौं, १७ वैशाख । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकारसँग चार बुँदे माग राखी आन्दोलनरत छन् । अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सृजनशील नेपालीहरुलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याउन पर्ने, सार्वजनिक खरिद ऐन भन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्धन, सन्चालन तथा खरिद ऐन’ बनाउन पर्ने, अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापुर्वक परीक्षण गरिएका चिजहरु लाई उत्पादन गरि नव–उद्यमी बन्न चाहने नेपालीहरुलाई उद्यम सुरु गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋणको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर उनी लगायतको टिम काठमाडौंको माइतीघरमा आन्दोलनरत छ । उनीहरु राति पनि सोही स्थानमा बस्दै आएका छन् ।

‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रेका पुनको आन्दोलनमा विभिन्न राजनीतिक दलहरुले र अन्य क्षेत्रका विशिष्ट व्यक्तिहरुले ऐक्यबद्धता जनाउँदै आएका छन् । उनले आन्दोलन सुरु गरेकै दिन राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, वरिष्ठ नेता प्रकाश चन्द्र लोहनी, राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका पदाधिकारी, राप्रपा प्रवक्ता मोहन श्रेष्ठ लगायतले भेटवार्ता गरी आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए ।
त्यसैरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले उनको आन्दोलनमा समर्थन जनाएका थिए । उनले आफू लगायत रास्वपाको २१ सांसदको आन्दोलनमा पूर्ण समर्थन रहेको वचन दिएका थिए ।

त्यसैगरी, आज राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, डा. गोविन्द केसी, नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनाल लगायतका नेताहरुले भेटेर समर्थन जनाएका छन् । राप्रपा अध्यक्ष लिङ्देनले सरकारले पूरा गर्नपर्ने कामको नेतृत्व गरेको भन्दै पुनको प्रशंसा गरे । आन्दोलनप्रति आफ्नो पूर्ण समर्थन रहेको उनको भनाई थियो ।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनले लामो समयदेखि नेपालमा आविष्कारको क्षेत्रमा योगदान पुर्याउँदै आएका छन् । त्यसैगरी, उनको आन्दोलनमा नेपाली कांग्रेका प्रदीप पौडेल, खमबहादुर गर्बुजा, महामन्त्री विश्वप्रकाश शर्मा लगायतको समर्थन रहेको छ । महामन्त्री शर्माले हिजा (शनिबार) काठमाडौंको एक कार्यक्रममा राज्यले सम्मान गर्नुपर्ने महावीर पुनजस्ता मान्छे सडकमा आउनु दुःखद् भएको बताएका थिए । उनले आफूले प्रधानमन्त्रीसँग माग पूरा गर्न अनुरोध गरेकोसमेत बताएका थिए ।

त्यसैगरी, रक्षा तथा तथा कानुनमन्त्री पूर्णबहादुर खड्कासँग भएको भेटवार्तामा संवादका लागि समझदारी बनेको छ ।
पुनले सबै राजनीतिक दललगायत शीर्ष व्यक्तित्वको ध्यान तान्न सफल भएका छन् । उनको आन्दोलनलाई युवाहरुलेसमेत विशेष चासोको रुपमा लिएका छन् ।

यस्ता छन् पुनका मागहरुः

१. ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सृजनशील नेपालीहरुलाई अनुसन्धान गर्ने काममा ठोस सहायोग गर्न हरेक बर्ष संघीय र प्रदेश सरकारले आफ्नो बिकास बजेटको १ प्रतिशत रकम छुट्याइयोस् र ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ मा राखियोस् । सो कोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरुलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गरियोस् । सो कोषमा जम्मा भएको रकम सोही वर्ष खर्च नभएमा आगामी वर्षहरुमा पनि खर्च गर्न पाउने ब्यवस्था गरियोस् ।

२. सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नविनतम सोच भएका नेपालीहरुलाई उपलब्ध गराउन संसद्ले नेपाल सरकारको सार्वजनिक खरिद ऐन भन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्धन, सन्चालन तथा खरिद ऐन’ बनाइयोस् र आवश्यकताअनुसार अनुसन्धानको कामलाई बहुवर्षीय कार्यक्रममा राख्न मिल्ने गरी नीति नियम बनाईयोस् ।

३.अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापुर्वक परीक्षण गरिएका चिजहरु लाई उत्पादन गरि नव–उद्यमी बन्न चाहने नेपालीहरुलाई उद्यम सुरु गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराइयोस् । स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस सहयोग गर्ने नीतिनियम बनाइयोस् । सो कामलाई सहज बनाउन र आवश्यकता अनुसारको नीति नियम बनाउनको लागी ‘नव उद्यमी प्रवर्धन समिति’ बनाइयोस् र सो समितिले सरकारलाई आवश्यक कदम चाल्न अनुरोध गर्ने ब्यबस्था गरियोस्।

४.प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयहरुमा व्यावहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्धन गर्नको लागि विज्ञान मन्त्रालय अन्तर्गत ‘व्यावहारिक अनुसन्धान र नवप्रवर्तन विभाग’ खोलियोस् । सो विभागलाई देशका प्रतिभाहरुलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भैसकेका प्रतिभाहरुलाई के कसरी र कुन रुपमा हुन्छ स्वदेशमा फिर्ता ल्याउन र उनीहरुबाट फाइदा लिनको लागि चाल्नु पर्ने ठोस वातावरण तयार गर्ने पूर्ण अधिकारसहित दिईयोस्।’



प्रतिक्रिया दिनुहोस्

Screenshot