Logo

प्रचण्डसँग रास्वपाको माग ‘पहिलाको भन्दा थपेर मन्त्रालय चाहिन्छ’ (भिडियोसहित)



काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य मनिश झाले पहिलेको भन्दा कम मन्त्रालय र प्रोफाइल घटाएर आफूहरु सरकारमा सहभागी नहुने बताएका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उपनिर्वाचनबाट आफ्नो पार्टीको संख्यात्मक र गुणात्मक रुपमा दक्षता वृद्धि भएकाले सरकारमा सहभागी हुन पहिलेको भन्दा बढि मन्त्रालयमा आफूहरुको दाबी हुने र न्युनतम पनि पहिले पाएका मन्त्रालयहरु पाउनु पर्ने बताएका हुन् ।

‘पहिला जति हामीले मन्त्रालयहरु पाएका थियौं र जुन–जुन पाएका थियौं, त्यो भन्दा त हाम्रो सिट घटेको होइन नि बढेको छ । हाम्रो पार्टीको दक्षता बढेको छ । नयाँ आउनु भएको व्यक्तित्व त्यो भन्दा सबल हुनुहुन्छ । संख्यागत र गुणात्मक रुपमा दक्षता बढेको आधारमा पहिलाको मन्त्रालयको प्रोफाईल घटेर त आउँदैन नि झन बढेर आउन पर्यो,’– उनले भने ।

सरकारमा सहभागी हुने पहिलो शर्त सरकारका न्यूनतम् साझा कार्यक्रममा रास्वपाका मागहरु समेटिनु पर्ने र त्यसपछि मात्रै व्यहारिक सहमतिको निर्णय हुने उनले बताए । आफूहरुको मागप्रति सरकार कठोर भएको खण्डमा रास्वपा पनि कठोर हुन बाध्य हुने उनको चेतावनी छ । सरकारले आफूहरुको माग सम्बोधन नगरेको खण्डमा सरकारलाई दिएको समर्थन फिर्ता लिने उनको दाबी छ ।

‘हाम्रो माग र अनुरोधप्रति उहाँहरु सकारात्मक हुनुभएन र कठोर हुनुभयो भने कठोर हुने स्वतन्त्रता हामीसँग पनि छ । ब्ल्याक ईन ह्वाईटमा निर्णय हुन्छ । उहाँहरुले सहमति गर्नुभयो भने हामी सहमतिमा जान्छौं । उहाँहरु सहमतिप्रति सकारात्मक हुनुभएन भने हामी फिर्ता लिन्छौं । न्युनतम साझा कार्यक्रममा हाम्रो माग अट्ने नअट्ने कुराले नै हाम्रो समर्थन राख्ने वा नराख्ने निर्णय हुन्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot