Logo

हलो जोत्ने किसानलाई छाला जुत्ता किन चाहियो ? भनेर कारखानानै बन्द गराए– केपी ओली



काठमाडौं, १८ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीजीकरणका नाममा कांग्रेसले उद्योगहरु बेचेर खाएको आरोप लगाएका छन् । आज (सोमबार) १३४औं मजदुर दिवसको अवसरमा बोल्दै उनले देशमा भएका उद्योगहरुलाई कमिसनका लागि कौडीको भरमा बेचेर देशको अर्थतन्त्र टाट पल्टाउन खोजेको आरोप लगाएका हुन् ।

‘हाम्रो देशको दुःखद् पक्ष के छ भने, हिजो जति ठूला उद्योग थिए, ति उद्योगहरु बन्द हुँदै गएका छन् । बन्द गरिएका छन् । तिनलाई नीजीकरण भनेर नीजीकरण होइन, बेचेर खाने काम भइरहेको छ । नीजि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ । नीजि क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्नपर्छ । नीजि क्षेत्रको प्रोटेक्सन गर्नुपर्छ । उसलाई सुविधा, सहुलियत दिनुपर्छ । तर, सार्वजनिक स्वामित्वमा रहेको चिज नीजीकरणको नाममा जाली खेल खेलेर कमिसनका भरमा कौडीको मोलमा बेचेर देशको अर्थतन्त्रलाई टाट पल्टाउने र ति उद्योगहरु बन्द गराउने क्रियाकलापहरु हुन हुँदैन थियो । अहिले पनि हुन खोजिरहेका छन्, रोक्नुपर्दछ,’– ओलीले भने ।

अहिले सत्तारुढ दलका शीर्ष नेताहरुले बाँसबारी छाला जुत्ता कारखाना बन्द भएका गर्व गरिरहेको उनको भनाई छ । किसानलाई छाला जुत्ता किन चाहियो ? भन्ने संकुचित सोचमा गठबन्धनका प्रमुख दलका शीर्ष नेता रहेको उनले बताए ।

‘अहिले प्रमुख सत्तासिन दलका नेताहरुनै छाला जुत्ता कारखाना बन्द भएकोमा, हलो जोत्ने कृषि प्रधान देशमा छाला जुत्ता किन चाहियो ? त्यसकारण बाँसबारी छाला जुत्ता कारखाना बन्द भएको ठीक छ भनेर अभिव्यक्ति दिन्छन् । कतिसम्म दयनीय चिन्तन हो, कत्तिसम्म दयनीय अवस्था हो । सत्ताधारी पार्टीका प्रमुख ओदाहहरुमा बसेको नेताहरुको भनाई त्यस्तो छ,’– उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot