Logo

‘साइकलयात्री शाहले रास्वपामाथि बदनाम गर्ने भाष्य निर्माण गर्न खोज्नुभयो’



काठमाडौं, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले विश्व साइकल यात्री पुष्कर शाहले आफ्नो पार्टीलाई बदनाम गर्ने उद्देश्यले गलत भाष्य निर्माण गर्न खोजेको बताएका छन् ।

आज (सोमबार) विहान साइकल यात्री शाहले रास्वपा केन्द्रीय कार्यालयमा साइकललाई प्रवेश नदिएको भनी सामाजिक सञ्जालमा लेखेका थिए । लगत्तै सामाजिक सञ्जालमा रास्वपाको चर्को आलोचना भएको थियो । उनको आरोपलाई खण्डण गर्दै उपसभापति अर्यालले रास्वपाको स्टाफदेखि केन्द्रीय सदस्यसमेतले साइकल चढ्ने गरेको बताएका छन् ।

अर्यालले शाहले भेट्न खोजेकाले भेट्न बोलाएको र फोन नउठेको समेत स्विकार गरेका छन् । तर, आफूले केही समयपछि गरेको फोन शाहले काटेको पनि उनले बताएका छन् ।

‘मैले उहाँलाई भेट्न बोलाएको थिए, उहाँ जस्तो व्यक्तित्वले भेट्न खोज्नु भयो भने सायदै कसैले विमति जनाउँछ होला । तर, दुःख लागेको कुरा चाहिँ उहाँले फोन नउठेको कुरा चाहिँ समावेश गर्नु भएको रहेछ तर त्यस लगतै मैले फोन गरेको र उहाँले काटिदिनु भएको कुरा चाहिँ भन्न छुटाउनु भएछ,’– अर्यालले सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले भने अनुसार साइकल नै भएको कारणले पार्टी कार्यालयभित्र राख्न दिइएन भन्ने कुरामा कुनै सत्यता नभएको र खण्डणयोग्य रहेको उनले बताएका छन् । उनले भनेका छन्– ‘हाम्रो स्टाफ देखि केन्द्रीय सदस्यहरूले पनि साइकल प्रयोग गर्नुहुन्छ ।’

पार्टी कार्यालयमा पार्किङ गर्ने ठाउँ थोरै भएकाले अरूलाई जस्तै उनलाई पनि बाहिर राख्न अनुरोध गर्दा गलत ढङ्गले प्रस्तुत गरी आफूहरुलाई बदनाम गर्न खोजेको उनले बताए । साइकल यात्रीले अधुरो र अपुरो कुरा पोस्ट गरेकोमा दुःख लागेको पनि उनले बताएका छन् ।

‘तपाईँले विहान भोग्नु परेको असहज परिस्थितिप्रति माफी माग्न चाहें । तर, अधुरो र अपुरो कुरा मात्रै पोस्ट गर्नु भएकोमा दुःख पनि लागेको छ,’– अर्यालले लेखेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot