काठमाडौं, २१ बैशाख । नेपाल बार एशोसिएसनले संवैधानिक परिषद्को बैठक बोलाएर तत्काल प्रधानन्यायाधीश नियुक्ति गर्न माग गर्दै निरन्तर आन्दोलन गर्दै आएको छ।
बारको पछिल्लो पटकको आन्दोलन बिहीबार पाँचौ दिनमा प्रवेश गरेको छ। यसबीच ललितपुर बार एसोशिएसनले आज(बिहिबार)पनि दवाबमुलक कार्यक्रमगरी ऐक्यबद्धता जनाएको छ।
ललितपुर बारको आन्दोलनलाई सम्बोधन गर्दै नेपाल बार एशोशिएसनकी महासचिव अञ्जीता खनालले अहिलेको आन्दोलन प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको महाअभियोगको शृङ्खला भएको बताइन्। साथै, अहिलेको आन्दोलन ख्यालख्याल नसोच्न र यसलाई गम्भीरतापूर्वक लिन सरकार समक्ष आग्रह गरिन्।
‘अहिलेको आन्दोलन सामान्य हो भन्ने मलाई लाग्दैन। चोलेन्द्रको महाअभियोगको नै शृङ्खला हो यो आन्दोलन। बार न्यायालयको स्वतन्त्रताको लागि लड्ने ‘वाच डग’हो। हामीले न्यायालयको समस्या प्रधानमन्त्री र सभामुख भेटेर समस्या पोख्दा पनि समाधान भएन। त्यसैले सशक्त आन्दोलनको विकल्प छैन,’ उनले भनिन्।
निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोग निष्कर्षमा पुर्याउन यो आन्दोलनले एउटा सेतुको काम गर्ने उनको भनाई छ। न्यायालयले प्रधानन्यायाधीश माग गर्न नसक्दा बारले त्यसको भूमिका निर्वाह गर्नुपरेको उनले बताईन्।
‘प्रधानन्यायाधीश चोलेन्द्र शमशेर निलम्बित नै हुनुहुन्छ। हामीले त्यो एजेन्डा छोडेका छैनौं। प्रधानन्यायाधीश नियुक्ति बारले गर्ने त होईन। तर, न्यायालयले प्रधानन्यायाधीश माग गर्न सकेन। अनि हामी बोल्न परेको हो। यो आन्दोलन पहिलाकै निरन्तरता हो,’ उनले भनिन्।
त्यसैगरी, ललितपुर बारका निवर्तमान अध्यक्ष अर्जुन महर्जनले अदालतको विकृति र विसंगतिको बारेमा आवाज उठाउनु कानुन व्यवसायी र बारको कर्तव्य भएको बताए। अहिलेको आन्दोलनको उद्धेश्य न्यायालय सुदृढीकरण र प्रधानन्यायाधीश नियुक्तिका लागि दवाब दिनु भएको उनको भनाई रहेको छ। ‘न्यायपालिका सुदृढीकरणका र प्रधानन्यायाधीश नियुतीका लागि यो आन्दोलन हो। नेपाल बारले यो आन्दोलन उठाउन गर्नु शान्दर्भिक छ,’ उनले भने।
त्यसैगरी ललितपुर बारका पूर्वअध्यक्ष प्रकाश महर्जनले संवैधानिक परिषद्को बैठक नै बस्न नसक्नु लाजमर्दो भएको बताए। प्रधानन्यायाधीश नै नभएको देशको नागरिक भएर बाच्नुमा पीडा बोध भएको उनको भनाई छ।
‘संविधानको मेन स्टेकहोल्डर संवैधानिक परिषदको बैठक नबस्नु लाजमर्दो हो। प्रधानन्यायाधीश नै नभएको देशको नागरिकको रुपमा बाच्नुमा पीडा छ,’ उनले भने। साथै, आन्दोलनलाई थप सशक्त बनाउन गोलबद्द हुन सबै कानुन व्यावसायीलाई आग्रह गरे।
ललितपुर बारका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता रमेशकुमार मैनालीले चोलेन्द्र भ्रष्टाचारी भएको टिप्पणी गरे। १४ महिनादेखि न्यायालय प्रमुखविहीन बन्दा सर्वसाधारण मारमा परेको र न्याय प्रणाली नै प्रभावित भएको उनको भनाई छ। ‘यो विषय नेपाल बारले हिजोदेखि नै उठाउन गरेकै हो। चोलेन्द्र शमशेर भ्रष्टाचारी हुन्। उनको महाअभियोग निष्कर्षमा पुर्याउँ भन्ने दवाब पनि हो,’ उनले भने।
ललितपुर बारका अध्यक्ष राम श्रेष्ठले न्यायपालिका सुदृढीकरण र न्यायापालिकामा हुने भ्रष्टाचारको अन्त्यका लागि अटोमेसन लागू गर्नुको विकल्प नरहेकोसमेत बताए। लामो समयदेखि न्यायालय कायम मुकायमको भरमा चल्दा न्याय प्रणालीले प्रभावित बनेको उनको भनाई छ। तत्काल संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि नबढाए आन्दोलनलाई थप सशक्त बनाउन आफूहरू बाध्य हुने उनको भनाई छ।
‘हामीले १४ महिनादेखि प्रधानन्यायाधीश पाएका छैनौं। संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अगाडि बढाउनु अहिलेको आवश्यकता हो। साथै, न्यायापालिकाको विकृति र विसंगती अन्त्य गर्नका लागि गोलाप्रथा छडेर अटोमेसनमा जानुको विकल्प छैन,’ उनले भने।