Logo

मानव सेवाका कामलाई निरन्तरता दिन सरकारको साथ रहन्छ : उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौं, २३ बैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहयोगापेक्षी सडक आश्रित मानवलाई अभिभावकत्व प्रदान गर्ने र आश्रय दिने मानव सेवाको अभियानलाई सफल पार्न सरकरका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौँको नागार्जुन नगरपालिका–१ स्थित मानव सेवा आश्रमको अवलोकन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले मानव सेवाका कामलाई निरन्तरताका साथ अगाडि बढाउन सरकारका तर्फबाट साथ रहने प्रतिबद्धता व्यक्त गरे। उनले आश्रमलाई जीवित राख्न, सञ्चालनमा ल्याइराख्न र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त नेपाल बनाउने प्रक्रियालाई अगाडि बढाउन सरकारले सम्पूर्ण प्रयत्न गर्ने विश्वास दिलाए।

“जसरी तपाईँहरूले काम व्यवहारद्वारा आफूलाई नयाँ खालको नागरिकको पहिचान बनाउनुभएको छ, कामद्वारा मानव सेवाको उद्देश्यलाई सफल पार्न सहयोग पुर्याउन चाहन्छु”, उनले भने।

मानव सेवा आश्रमलाई सरकारबाट हुनसक्ने सहयोगका लागि आजै आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए। प्रधानमन्त्री स्वयं पनि देशमा भइरहेका राम्रा कामलाई आत्मसात् गरेर जाने अभियानका साथ अगाडि बढिरहनुभएको उल्लेख गर्दै उनले राम्रा कामलाई सरकारले पनि सहयोग गर्नुपर्छ भन्ने दृष्टिकोण राखेको बताए।



प्रतिक्रिया दिनुहोस्