काठमाडौं, २६ बैशाख । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले कांग्रेसको घोषणापत्र आफूलेपनि लेखिदिएको बताएका थिए।
सोही विषयमा आपत्ति जनाउँदै मंगलबारको प्रतिनिधिसभामा कांग्रेसका सांसद राजेन्द्र बजगाईंले वाग्लेले नियुक्ति दिएर लेख्न लगाएको बताएका छन्।
बजगाईंले हामीले हाम्रो घोषणापत्र तयार गर्दैगर्दा नेपाली कांग्रेसका तत्कालीन अर्थशास्त्री माननीय वाग्लेजीलाई सहयोग मागेको दाबी गर्दै उनले भने, ‘त्यहाँबाट निस्किसकेपछि मैले बनाइदिएको घोषणापत्र प्रतिबिम्बित गर्नुपर्थ्यो भनेर यो सदनमा उभिएर भन्नुभयो। त्यो छुच्याईँ हाम्रा अग्रजहरुले जानेका होइनन् र थिएनन्। म यहाँलाई फेरि पनि स्मरण गर्न चाहन्छु मोटिभेसनल फी भनेको हामीले नियुक्ति प्रदान गर्यौँ। त्यसमा ख्याल गर्नुहोला। तपाईं पनि यो सदनमा प्रवेश गरिरहनुभएको छ। मर्यादा कायम गर्नुहोला।’
यस्तै, बजगाईंले बजगाईंले २००८ सालमा पहिलोपटक कांग्रेस नेतृत्वको सरकारले नेपालको पहिलो बजेट ल्याउँदा तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरले अंग्रेजहरुको सहयोग लिएको उल्लेख गर्दै उनले भने, ‘सुवर्णज्यूले कुनै मोटिभेसनल फि नराखिकन अंग्रेजहरुसँग अर्थ मन्त्रालयको बजेट तर्जुमा गर्दा सहयोग लिनुभएको रहेछ। पश्चिमा देशहरुमा मोटिभेसनल फी भनेको एक किसिमले उच्चस्तरको घुस जस्तो मानिने रहेछ।’
वाग्लेले सोमबारको प्रतिनिधिसभामा अगामी बजेटबारे, ‘नेपाली कांग्रेसको घोषणापत्र पढ्नुभएको होला हाम्रा अर्थमन्त्रीज्यूले, मैले पनि पढेको छु, मैले पनि धेरैबहुत लेखिदिएकै हो। त्यहाँ ओम्निबस आर्थिक सुधारको कुरा गरिएका छन्। आफ्नै घोषणापत्र पढेर कार्यान्वयनमा उतार्नुहोला। यो हैरानी र झन्झटको दुश्चक्रबाट अर्थतन्त्रलाई बाहिर ल्याउनुपर्ने छ,’ भन्दै सुझाव दिएका थिए।