Logo

सडक अलपत्र पार्ने ठेकेदार सांसद कान्छारामविरुद्ध प्रदर्शन



काठमाडौं, ३१ वैशाख । नेपाली कांग्रेसका रामेछाप जिल्ला सभापति एवं प्रतिनिधि सभा सदस्यसमेत रहेका पूर्णबहादुर तामाङ (कान्छाराम) विरुद्ध ओखलखढुंगाका स्थानीयहरुले आन्दोलन थालेका छन् ।

रामेछापबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद तामाङको कान्छाराम कन्स्ट्रक्सनले ठेक्का लिएको ओखलढुंगा सदरमुकामदेखि निशंखेसम्मको सडक अलपत्र भएका भन्दै स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले विभिन्न ११ बुँदे मागहरु सार्वजनिक गरेका छन् ।

सांसद तामाङले ठेक्का लिएर पेटी ठेकेदारलाई जिम्मा दिँदा उक्त काम अलपत्र बनेको स्थानीयको भनाई छ । एक वर्षभित्र सम्पन्न गर्ने गरी कान्छाराम कन्स्ट्रक्सनले २०७६ पुषमा ठेक्का लिएपनि काम अहिलेसम्म अलपत्र रहेको छ । ठेकेदारले समयमै काम सम्पन्न नगरेर जनताको स्वास्थ्यमाथि खेलवाड गरेको स्थानीयको आरोप छ ।

साथै, ठेकेदारलाई ओखलढंगाकै सांसद रामहरी खतिवडाको संरक्षण रहेको स्थानीयको आरोप छ । तर, खतिवडाले भने स्थानीयको विरोध प्रदर्शनमा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् । ‘जनताको ज्यानको सुरक्षा गर ठेकेदारलाई छिटो कारवाही गर’ भनी खतिवडाले सामाजिक सञ्जालमा लेखेका छन् ।

‘गोरुमारेभन्ज्यङ–निशंखे सडक संघर्ष समितिले आयोजना गरेको यो ब्यानर सहितको खवरदारीले मलाई थप सहयोग मिलेको छ । तपाईंहरुको यो कार्यमा मेरो सम्पूर्ण रुपमा समर्थन छ,’– उनले भनेका छन् ।

विकास निर्माणका काम अलपत्र पार्ने छुट कसैलाई पनि नभएको खतिवडाको भनाई छ । साथै, पार्टीको नाममा कसैलाई बचाउन आफू नलाग्ने र लाग्न नदिने पनि उनले स्पष्ट पारेका छन् ।



प्रतिक्रिया दिनुहोस्