Logo

संसदीय सुनुवाइ समितिमा नेकपा एसलाई ‘नो इन्ट्री’



काठमाडौं,३१ वैशाख । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाहेकका दलहरूले संघीय संसदअन्तर्गत संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरूको नाम बुझाएका छन् ।

जसमा नेकपा एमालेबाट प्रमुख सचेतक पदम गिरी, सचेतक महेश बर्तौला, लीलानाथ श्रेष्ठ र ईश्वरी घर्ती छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सन्तोष परियार, राप्रपाबाट पशुपतिशमशेर जबरा र जसपाले प्रदीप यादवको नाम पठाएको छ ।

राष्ट्रियसभाबाट भने कांग्रेसका रमेशजंग रायमाझी, एमालेका देवेन्द्र दाहाल र माओवादीका जगप्रसाद शर्मा मनोनयन भइसकेका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेले समान ५\५ जना सदस्य प्राप्त गर्दा प्रतिनिधिसभामा १० सिट रहेको नेकपा एकीकृत समाजवादीलाई भने भाग नपर्ने भएको छ ।
गठबन्धनमा रहेका दलले नेकपा एसलाई पनि एक सदस्य दिनुपर्ने अडान राखेका थिए ।

यसअघि समिति सदस्य संख्या निर्धारण गर्न प्रमुख दलबीचको बैठकमा सत्ता पक्षको तर्फबाट विशेष समितिमा १२ मध्ये दलहरूको सांसद संख्याको अनुपात निकाल्दा कांग्रेसबाट ३।८८ प्रतिशतले ४ सदस्य रहने र एमालेबाट एमाले ३।४९ प्रतिशतको हिसाबले ३ सांसद रहने प्रस्ताव गरिएको थियो ।

त्यस्तै माओवादी १।४१ प्रतिशत (१ सीट), रास्वपा ०.८४ प्रतिशत (१ सीट), राप्रपा ०.६२ प्रतिशत (१ सीट), जसपा ०.४९ प्रतिशत ( १ सीट) र नेकपा एकीकृत समाजवादीको ०.४४ प्रतिशत (१ सीट)को प्रस्ताव भएको थियो ।

सत्तापक्षले नेकपा एसलाई एक सीट दिने प्रस्तावमा एमाले अस्वीकार गरेको थियो । शून्य दशमलब ४९ प्रतिशतको जसपाले १ सीट पाएपछि ३ दशमलब ४९ रहेको एमालेले १ सीट पाउनुपर्ने थियो । ०.४९ ले नपाएर ०.४४ ले कसरी एक सीट पाउँछ भन्ने एमालेको प्रश्न थियो ।

३।८८ प्रतिशत भएको कांग्रेसले ४ सीट राखेपछि एमाले ३।४९ सीट भएको एमालेले पनि चार सीट नै पाउनुपर्ने एमालेको अडान थियो ।
एमालेको अडानकै कारण यसपटकलाई संसदयि सुनुवाइ समितिमा नेकपा एसले इन्ट्री पाउन सकेन् ।



प्रतिक्रिया दिनुहोस्