Logo

क्यान्सरको प्रमुख कारण सुर्ति सेवन होः डा.विष्णुदत्त पौडेल



काठमाडौं, ३१ वैशाख । नेपालमा क्यान्सर रोगको अवस्था भयावह रहेको चिकित्सकहरुले बताएका छन् । क्यान्सर हुनुको ८० प्रतिशत कारण धुम्रपान र मध्यपान भएको पनि चिकित्सकहरुको भनाई छ ।

आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा नेपाल, सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालको सहकार्यमा आयोजित धुम्रपान तथा सुर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी विशेषज्ञ चिकित्सकहरुसँगको अन्तरक्रिया कार्यक्रमा बोल्दै चिकित्सकहरुले धुम्रपान नियन्त्रण गर्नसके क्यान्स हुने सम्भावना ८० प्रतिशत घटेर जाने बताएका हुन् ।

भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. विष्णुदत्त पौडेलले क्यान्सरको प्रमुख कारण सुर्ति सेवन भएको बताए । सुर्ति सेवनलाई रोक्न सके, नियमित कशरत र जीवनशैलीमा ध्यान पुर्याउन सके क्यान्सरको खतरा ९० प्रतिशत कम हुने उनको भनाई छ ।

‘क्यासन्सर हुनुको प्रमुख कारण सुर्ति सेवन हो । त्यसबाहेक जीवनशैली हो । आजकाल मान्छेको तौल बढ्दै गइराखेको छ । शारीरिक कसरतहरु घट्दै गएको छ । अर्को भाइरसले गर्दा पनि क्यान्सर हुन्छ । पाठेघरको क्यान्सर हुने कारण भाइरसले गर्दा नै हो । क्यान्सरका मल्टिपल कारण हुन्छन् । ९० प्रतिशत कारण वातावरणीय कारण हो । त्यो हाम्रै हातमा हुन्छ । जेनेटिक फ्याक्टर्सका कारणले पनि क्यान्सर हुन्छ,’– उनले भने ।

आफूहरुको फोकस भरसक क्यान्सर लाग्न नदिनेमा हुनुपर्ने उनको भनाई छ । क्यान्सरलाई रोकथाम गर्न सकिने उनले बताए । सुर्ति सेवनका कारण सेकेण्ड स्मोकरलाईसमेत असर गर्ने उनले बताए । गर्भवती महिलाले सुर्ति सेवन गर्दा पेटमा रहेको बच्चालाईसमेत असर गर्ने उनको भनाई छ ।

सर्ती सेवनलाई कानुनी रुपमा कडाइ गर्न आवश्यक रहेको उनले बताए । साथै, क्यान्सरविरुद्धको पनि भ्याक्सिन आएको उनले बताए । अहिले महिलाहरुको पाठेघरको क्यान्सरको समस्या भयावह रुपमा देखा परेको उनको भनाई छ । क्यान्सरकारको रोकथामका लागि राज्यले भ्याक्सिनको व्यवस्था गर्न आवश्यक रहेको उनले बताए ।

क्यान्सर लाकेका व्यक्तिहरुले उपचार गरेमा निको हुने उनले बताए । क्यान्सरका विरामीलाई माया, ममता र हेरविचारको एकदमै आवश्यक पर्ने उनले भनाई छ । केही वर्षअघिको भन्दा क्यान्सरको विरामीको पीडा कम हुँदै गएको डा। पौडेलले बताए ।

नेपालमा क्यान्सर रोकथामका प्रयास भइरहेपनि समस्याको भार अनुसारको व्यवस्था अझै हुन नसकेको उनले बताए । अहिले विरामीले पैसा तिरेर उपचार पाउनसमेत नसकेको उनले बताए । भक्तपुर अस्पतालमा दिनको एक सय भन्दा बढि विरामीको उपचार गरिरहेको उनले बताए । क्यान्सरको क्षेत्रमा नेपालमा गर्न बाँकी धेरै रहेको डा. पौडेलले बताए । साथै, पत्रकार धमलाई क्यान्सरको बारेमा आवाज बुलन्द पार्नसमेत आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्