काठमाडौं, ३१ वैशाख । नेपाल प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणले प्रमाण खुल्न कागज चपाएर निलेको समाचारमा आधारहिन भएको बताएको छ । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज (आइतबार) विज्ञप्ति जारी गर्दै उक्त समाचारको खण्डण गरेको हो ।
‘प्रहरी अनुसन्धानको क्रममा रहेको नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नेपाली नागरिकहरुलाई ठगि गरी संगठित अपराध गरेको मुद्दाको निष्पक्ष अनुसन्धानलाई प्रभाव पार्ने गरी कुत्सित मनसायले झुठो, आधारहिन सूचना सम्प्रेषण गरिएको समाचारमा कुनै सत्यता नभएको हुदा भ्रममा नपर्न हुन अनुरोध गरिएको छ,’– विज्ञप्तिमा भनिएको छ ।
प्रहरी अनुसन्धानका क्रममा रहेका मुद्दाको विषयमा गलत तथ्यहिन, भ्रामक सूचना सम्प्रेषण नगर्नसमेत आग्रह गरिएको छ । भ्रामक समाचार सम्प्रेषणका कारण अनुसन्धान कार्यमासमेत नकारात्मक असर पर्ने र जनमानसमा भ्रम सृजना उत्पन्न हुन जाने प्रहरीले बताएको छ । यथार्थ र तथ्यपरक सूचना सम्प्रेषण गरी अनुसन्धान कार्यलाई सहयोग गरिदिन सबैसमक्ष प्रहरीले अनुरोधसमेत गरेको छ ।