काठमाडौं,१ जेठ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान त्रिशंकु संसद्ले देश र जनतालाई निकास दिन नसक्ने बताएका छन् ।
अनेरास्ववियूको ५९औं स्थापना दिवस एवं युवा संघ नेपालको ३४ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै खनालले दलाल पुँजीवाद र त्यसलाई प्रतिनिधित्व गर्ने प्रतिक्रियावादी शक्तिविरुद्ध निशाना केन्द्रित गर्न पनि आह्वान गरेका छन् ।
उनले बढ्दो श्रमजीवि युवाहरु विदेश पलायन भइरहे पनि त्रिशंकु संसदले समाधान दिन नसकेको बताएका हुन् ।
‘यस्तो अवस्थामा देशका समस्त वामपन्थी, प्रगतिशील, देशभक्त, लोकतान्त्रिक र समाजवादी युवा एकजुट हुनु जरूरी छ र समाजवादतिरको यात्रालाई तीव्र र व्यापक पार्नु जरूरी छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका खनाल सन्देशमार्फत् भनेकाछन्, ‘तर अझैसम्म देशका कतिपय वामपन्थी शक्तिहरू मुलुकको प्रधान अन्तर्विरोध के हो र मुख्य निशाना के हो भन्ने कुरामा नै अन्योलग्रस्त र दिशाहीन देखिन्छन्।’