Logo

सिभिल छेउमा आकाशेपुल बन्ने भएपछि दिपेन्द्रले भने, ‘अब कसैको ज्यान नजाओस्’



काठमाडौं, १ जेठ । सिभिल अस्पताल नजिकै आकाशेपुल बनाउन अर्थ मन्त्रालयले स्वीकृति दिइएको छ । बागमती प्रदेशका प्रदेशसभा सदस्य दिपेन्द्र श्रेष्ठको २ महिनादेखिको निरन्तर प्रयासले उक्त ठाउँमा आकाशेपुल बन्ने भएको हो ।

अर्थ मन्त्रालयले हिजो (आइतबार) बेलुका सिभिल अस्पताल नजिकै प्रयागमार्ग र आलोकनगर जोड्ने आकाशेपुल बनाउन सडक डिभिजन, काठमाडौंलाई अनुमति दिएको हो । अर्थले भौतिक पूर्वाधार मन्त्रालय हुँदै आएको आलोकनगरमा अकाशेपुल निर्माण कार्यक्रम शंशोधन स्वीकृत गरेसँगै उक्त ठाउँका आकाशेपुल बन्ने निश्चित भएको हो । विवादका कारण कोटेश्वरमा बन्न नसकेको आकाशेपुल सिभिल अस्पताल नजिकै प्रयागमार्ग र आलोकनगर जोड्ने गरी बनाउन अर्थले सडकलाई स्वीकृति दिएपछि उक्त ठाउँमा आकाशेपुल बनाउने बाटो खुलेको हो ।

उक्त ठाउँमा बाटो काट्ने मान्छेको ज्यान जोगाउन दुई महिनादेखि सिंहदरबार धाइरहेका प्रदेश सांसद दिपेन्द्रले अर्थबाट काम फत्ते भएको जानकारी पाएसँगै रिपोर्टर्स नेपालसँग भने, ‘अब प्रयागमार्ग–आलोकनगरमा कसैको ज्यान नजाओस् ।’

काठमाडौं महानगरपालिका वडा नम्बर ३१ प्रयागमार्ग- आलोकनगर जोड्ने ‘हाइवे’मा जेब्राक्रसिङबाट बाटो काट्ने क्रममा ४०/५० जनाले ज्यान गुमाइसकेका छन् । त्यसैले थप मानिसको ज्यान नजाओस् भन्ने उनको कामना छ ।

उक्त ठाउँमा आकाशेपुल हालेर थप मान्छेको ज्यान जानबाट जोगाउन दिपेन्द्र बिगत दुई महिनादेखि नियमित सिंहदरबार धाइरहेका थिए । मान्छेको ज्यान जोगाउने उनको यो प्रयासलाई स्वास्थ्य लाइभले पनि साथ दिँदै आएको छ ।आकाशेपुल नहुँदा हजारौंको ज्यान जोखिममा थियो । उक्त ठाउँमा आकाशेपुल बनेपछि दिपेन्द्रले भनेजस्तै कसैको ज्यान जाँदैन ।

बागमती प्रदेशसभाबाट सिभिल अस्पताल नजिकै रहेको प्रयागमार्ग र आलोकनगर जोड्ने आकाशेपुल बनाउन प्रदेश सांसदद्वय दिपेन्द्र श्रेष्ठ र राजेन्द्र गुरूङले बागमती प्रदेश सरकारबाट दुईपटक बजेट हाल्न लगाएका थिए । तर, संघीय सडक विभागले उक्त सडक संघको क्षेत्राधिकारभित्र रहेको भन्दै आकाशेपुल बनाउन अनुमति दिएन । सडक विभागको अवरोधपछि तत्कालीन बागमती प्रदेशसभा सदस्यद्वय दिपेन्द्र श्रेष्ठ र राजेन्द्र गुरुङको संयुक्त पहलमा आकाशेपुल बनाउन हालेको बजेट त्यसै खेर गयो । प्रदेशबाट पार नलापछि संघतिरै फर्किएका दिपेन्द्रले काम आकाशेपुल बनाउने कार्यक्रम फत्ते गराएरै छाडेका छन् ।

आलोकनगर-शान्तिनगरप्रयागमार्गका स्थानीयलाई साथमा लिएर २ महिनादेखि सडक विभाग, सडक डिभिजन, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, भौतिक पूर्वाधार र अर्थ मन्त्रालयका धाइरहेका दिपेन्द्रलाई आईतबार बल्ल राम्रो निद्रा परेको छ । दुई महिनामा भौतिक मन्त्रालय र अर्थ मन्त्रालयका गौडा-गौडा चाहारेका उनलाई सिभिल नजिकै आकाशेपुल बन्ने भएपछि मस्त निन्द्रा परेको हुनुपर्छ । किनकी दिपेन्द्रलाई सुत्दा र उठ्दा पनि त्यो आकाशेपुलले सताउथ्यो ।

निरन्तर धाएपछि पुतलीसडकको राणाकालीन ढल विस्थापन गर्न सफल भएजस्तै दिपेन्द्र प्रयागमार्ग-आलोकनगर जोड्ने आकाशेपुलको कार्यक्रम पार्न पनि सफल भएका छन् । उक्त ठाउँमा बाटो काट्दा थप मानिसले ज्यान नगुमाउन भन्ने उद्देश्यले उनी आकाशेपुल हाल्न कस्सिएका हुन् । स्थानीयको साथ र दिपेन्द्रको खटाईले आकाशेपुल बनाउन प्रक्रिया अघि बढाउने कामले सार्थकता पाएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot