काठमाडौं,१ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विगत केही समयदेखि प्रमुख तीनदलका शीर्ष नेताहरुबीचको भेटघाटलाई गम्भीर रुपमा लिएको छ ।
आजको प्रतिनिधि सभामा बैठमा रास्वपाका सांसद मनिश झाले शीर्ष नेताहरुको भेटप्रति आशंका व्यक्त गरेका छन् ।
‘ शीर्ष तीन दलका नेताहरु पटक पटक भेटिरहेको हामी सञ्चार माध्यमबाट सुन्छौं । देशमा केही आपत्त परेको बेलामा बाढी पहिरो,भूकम्प वा अन्य केही विपत्ती परेको बेलामा त नेताहरु यती तारन्तर भेटिरहेको समचार सुन्दैनौं ?’ अहिले किन उहाँहरुको त्यसमा त्यति आकर्षण देखिएको छ ?’– उनले प्रश्न गरे ।
साथै, नक्कली भुटानी शरणार्थी प्रकरणमा सन्दिग्ध व्यक्तिहरु उम्कन नपाओस् र प्रमाण नष्ट पार्न नपाओस् भन्नेमा सम्बन्धित निकाय गम्भीर हुनुपर्ने उनको भनाई छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री, मन्त्रीदेखि नेपाल सरकारका सचिवसमेत पक्राउ परेपछि शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटघाट बाक्लो बनाएका छन् । बाक्लिएको उनीहरुबीचको भेटघाटलाई रास्वपाले शंकाष्पद रुपमा लिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा शीर्ष नेताहरुको आफन्तको समेत नाम आएको छ ।