Logo

संसद्मा टिसर्ट र जिन्स पाइन्ट लगाउन नपाउने व्यवस्थाको विरोधमा रास्वपा सांसद श्रेष्ठ



काठमाडौं, १ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफूलाई बच्चाको लेवल लगाइएको र टिसर्ट र जिन्स पाइन्ट लगाउँदा अमर्यादित भनेर खिल्ली उडाउने काम भएको भन्दै आपत्ति जनाएकी छिन् । आज (सोमबार) बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले मर्यादा पहिरनमा भन्दा पनि जिम्मेवारी र जवाफदेहितामा खोज्न आवश्यक रहेको बताईन् ।

‘बच्चा भनेर लेवल लगाएका र टिसर्ट र जिन्स लगाएकोमा अमर्यादित भनेर खिल्ली उठाएका सबैलाई विश्वस्त पार्न चाहन्छु । हामी सही बाटोमा छौं । पहिरनमा होइन, कर्तव्य र जिम्मेवारीमा मर्यादा खोजेर जवाफदेहिताको प्रष्ट प्रश्न सोधेर अगाडि बढेका नयाँ पुस्तामाथि यो रणनीतिक हमला हो । यसको रास्वपा विरोध गर्छ,’– उनले भनिन् ।

नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. आरजु राना देउवाले एक टेलिभिजन कार्यक्रममा सांसद श्रेष्ठलाई बच्चाको संज्ञा दिएकी थिईन् । केही दिनअघिको प्रतिनिधि सभा बैठकमा टिसर्ट र जिन्स पाइन्टमा सांसद श्रेष्ठ पुगेकी थिईन् । त्यसपछि उनको चौतफी आलोचना भएको थियो । हिजो बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा तोकिएको पोसाक लगाउन पर्ने व्यवस्था गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्