Logo

विद्यार्थी नयाँ संस्कार र संस्कृतिको अगुवा बन्नुपर्छः माधव नेपाल



काठमाडौं, १ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विद्यार्थीहरू नयाँ संस्कार र संस्कृतिको अगुवा बन्नुपर्ने बताएका छन् ।  उन्साठ्ठीऔँ विद्यार्थी दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले चरम व्यक्तिवादी प्रवृत्तिलाई परास्त गर्दै विद्यार्थीहरू अगाडि बढ्नुपर्ने बताए ।
“अहिले व्यक्तिवाद चरमरूपमा विकास भएको पाइन्छ । आफूले खोजेको र चाहेका पद नपाए सङ्गठनलाई तोडिदिने, देश र जनताप्रति घात गर्ने प्रवृत्ति व्याप्त छ । अखिलका योद्धाहरूले नयाँ संस्कार र संकृतिको अगुवा भएर अगाडि बढ्नुपर्छ”, उनले भने ।
जनताको विश्वास जितेर काम गर्नुपर्नेमा जोड दिँदै उनले जनतामा नयाँ विश्वास सिर्जना गर्न सक्नुपर्ने बताए ।  “जनताबाहेक राजनीतिको कुनै अर्थ छैन, कम्युनिष्ट पार्टी स्थापना गर्नुको मुख्य उद्देश्य राष्ट्रियताको रक्षा, देशभक्तिको भावनाको विकास र जनताको अधिकार स्थापित गर्नुथियो”, उनले भने ।
वामपन्थी शक्तिले मात्र जनताको आशा अपेक्षा पूरा गर्न सक्ने उनको दाबी छ । देशभक्तिको झण्डा फहराउने, लोकतन्त्रका लागि जीवन अर्पित गर्ने नै कम्युनिष्ट हुन् भन्ने स्थापित भएकोसमेत उनको भनाई छ ।  “अहिले गणतन्त्र, लोकतन्त्र, सङ्घीयता र संविधान सङ्कटमा पर्ने अवस्था देखिएको छ, यस्तो बेला कम्युनिष्टले आफूलाई जिम्मेवार बनाउनुपर्ने बेला आएको छ”, नेता नेपालले भने ।
युवा विद्यार्थी बिहानीको उज्यालो घाम भएको जनाउँदै उनले सिङ्गो विश्व र नेपालको भविष्य विद्यार्थीको हातमा केन्द्रित रहेको बताए ।  “तपाईंहरू सही बाटोमा अगाडि बढ्नुभयो भने देशले राम्रो बाटो पाउनेछ । राम्रो विचार र नेता पाउनेछ । तपाईंले बाटो बिराउनुभयो भने हामी सबैको भविष्य अँध्यारो हुनेछ”, उनले भने । युवा, प्रौढ र ज्येष्ठ नागरिकका अनुभव, ज्ञान र सीपलाई एक ठाउँमा मिलाएर अगाडि बढे जुनसुकै चुनौतीको सामना गर्न सकिने उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्