Logo

कांग्रेस नेता शाही भन्छन् ‘भ्रष्टाचार छानविनमा सहयोग पुर्याउनुको विकल्प छैन’



काठमाडौं, २ जेठ । नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले भ्रष्टाचारीलाई पालेर नेपाल अगाडि बढ्न नसक्ने टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भ्रष्टाचामा संलग्न जोसुकै भएपनि र जुनसुकै तहको नेता भएपनि जात, धर्म, रुपरंग, पार्टी केही पनि नहेरेर कारबाही हुनुपर्ने बताएका हुन् ।

‘भ्रष्टाचारमा संलग्न जोसुकै र जुनसुकै तहको भएपनि, जात, धर्म, रुपरंग, पार्टी केहीपनि नहेरेर, नेपाल अब भ्रष्टाचारीलाई ज्वाईँ पालेकोजस्तो सम्मान गरेर अगाडि बढ्न सक्दैन । देश झन समाप्त हुन्छ । भ्रष्टाचारीहरुलाई कुनै पनि कसर बाँकी नराखेर कारबाही गर्नपर्छ । भ्रष्टाचार छानविनमा हाम्रो पार्टीले सहयोग पुर्याउँछ, सहयोग पुर्याउनुको कुनै विकल्प छैन,’– शाहीले भने । ्

कांग्रेसले पार्टीका प्रभावशाली नेता बालकृष्ण खाँणलाईसमेत अनुसन्धानमा तानेको उनको भनाई छ । भ्रष्टाचारी कसैलाई पनि छुट् दिन नहुने उनले बताए ।
‘बालकृष्ण खाँण नेपाली कांग्रेसको प्रभावशाली नेता हो नि नेपाली कांग्रेसका लागि । गृहमन्त्री भएको, मन्त्री धेरै पटक हुनुभएको, पार्टीमा राम्रै पहुँच, पकड भएको हो नि त । तर, आज कांग्रेससहितको गठबन्धनको सरकार छ, कांग्रेसकै नेता जेल जानुपर्दो रहेछ नि त । कांग्रेसकै नेता अनुसन्धानमा तानिनु भएको छ । त्यसैले कसैलाई छुट छैन,’– उनले भने ।

कांग्रेसमा कोही भ्रष्टाचारमा संलग्न रहेको खण्डमा उसलाई जोगाउने र बचाउने काममा पार्टी लाग्न नहुने उनको भनाई छ । भ्रष्टाचारको अभियोग लागेसँगै पार्टीको जिम्मेवारीमा रहेका नेताको पद स्वतः निलम्बनमा पर्ने उनले बताए ।

‘कांग्रेसले भ्रष्टाचारमा संलग्न छ भने त्यसलाई जोगाउने, उम्काउने, बचाउने काममा पार्टी लाग्न हुँदैन । लाग्यो भने पार्टी झन कमजोर बनेर जान्छ । त्यसैले हाम्रो कुरा र युवाहरुको कुरा त्यही छ, भ्रष्टाचारी कोही छ भने कारबाही गरौं । कांग्रेस पार्टी भ्रष्टाचारीलाई कारबाहीका लागि तयार हुनपर्छ । अरु कोही छन् भनेपनि कारबाही हुनपर्छ । कुनै पनि नेतालाई भ्रष्टाचारको अभियोग लाग्छ, ऊ माथि छानविन हुन्छ र अनुसन्धान हुन्छ भने त्यो समयमा उसको पद स्वतः निलम्बनमा पर्छ । भोलि अदालतले सफाई दिन्छ, अदालतले छानविन गर्ला, त्यसमा निर्दोष भयो भने त फेरि त्यो पदमा बसिहाल्छ नि !’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्