Logo

अर्थमन्त्रीले निजगढ विमानस्थलको महत्व नबुझेको भन्दै नेपालको असन्तुष्टि



काठमाडौं,२ जेठ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अर्थमन्त्री डा प्रकासशरण महतले निजगढ अन्तराष्ट्रिय विमानस्थलको महत्व नबुझेको बताएका छन् ।

मंगलवार बसेको संसद्को अन्तराष्ट्रिय सम्बन्ध समितिको वैठकमा बोल्दै नेपालले उक्त कार्य अगाडी बढाउन आवश्यक बजेट आगामी वर्षको बजेटमा विनियोजन नगरिएको भन्दै अर्थमन्त्री महतप्रति असन्तुष्टि व्यक्त गरे ।

उनले भने, ‘पर्यटनसँग पनि जोडिएको, नागरिक उडड्यनसँग पनि जोडिएको र मलाई पनि सधैंभरि त्यसले घच्घच्याइरहेको त्यो निजगढ विमानस्थलको कुरा कतै हराउने हो कि भन्ने मलाई शंका र डर लाग्न थालेको छ ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले नपालको भविष्यसँग जोडिएको विमानस्थ अघि बढाउने कार्यमा खबरदारी गर्न समितिका सदस्यहरुलाई समेत आग्रह गरेका छन् ।

‘अहिलेको भन्दा पहिलेका प्रधानमन्त्रीजीलाई यो शिलान्याश गरौं भनें । यो समितिले पनि त्यहाँको अध्ययन गरेर अनेकौं खालको बाधा, अवरोधहरुलाई पन्छाएर बल्लबल्ल निजगढमा विमानस्थल बनाउन उपयुक्त हुन्छ भनेर निष्कर्षमा पुग्ने काम भएको थियो’, उनले भने, ‘त्यसलाई उच्च प्राथमिकता दिइयोस् । राष्ट्रिय बजेटमा पनि, सरकारको नीति तथा कार्यक्रममा पनि र यो समितिको काममा पनि ध्यान दिइयोस् भनेर त्यसलाई समावेश गरियोस् भनेर म विशेष जोड दिन चाहन्छु । हाम्रा अर्थमन्त्रीजीले पेश गरेको कुरामा अनेक कुराहरु चर्चा गरिएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरालाई प्राथमिकताका साथ नाम उल्लेख गरेर अगाडि सारिएको छैन । अब यो महत्व नबुझेर हो कि महत्व बुझाउन तथ्य, तथ्यांक, प्रमाण, विश्लेषण समेत पेश गर्नुपर्ने हो कि ?थाहा भएन ।’नेता नेपालले भने ।



प्रतिक्रिया दिनुहोस्