Logo

नाउपाको पदाधिकारी बैठक बस्दै,सरकारबारे के होला निर्णय ?



काठमाडौं, ४ जेठ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को पदाधिकारी बैठक आज बस्दैछ । बैठक काठमाडौंमा आज दिउँसो १ बजे बस्नेछ ।
सर्वोच्च अदालतले पार्टीका संरक्षक रेशमलाल चौधरीविरुद्ध परेको कर्तव्य ज्यान मुद्दामा उच्च अदालत दिपायल र जिल्ला अदालत कैलालीकै फैसला सदर हुने आदेश गरेपछि उत्पन्न परिस्थितीको बारेमा छलफल गर्न बैठक डाकिएको हो ।

२०७२ को भाद्र ७ मा कैलालीको टिकापुरामा भएको थरुहट आन्दोलनमा दोषि ठहर गर्दै नाउपाका संसरक्षसमेत रहेका नेता रेशमलाल चौधरी हाल काठमाडौंको डिल्लीबजार कारागारमा रहेका छन् ।

थरुहट र अखण्डपक्षबीच भएको उक्त झडप हिंशात्मक बन्दा डेढ वर्षीय बालकसहित ८ जनाको मृत्यु भएको थियो । उक्त घटनाका मुख्य योजनाकार रहेको आरोप लागेका चौधरीलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको थियो ।

उच्च र जिल्लाको फैसला बदरको मागसहित सर्वोच्च पुगेका चौधरीको मुद्धामा गत मंगलबार सुनुवाइ गर्दै न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले उच्च अदालतकै फैसला सदर गरिदिएको थियो ।

सर्वोच्चको फैसलापछि आक्रोशित बनेको नाउपाले सरकार छोड्ने चेतावनी दिँदै विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
आजको बैठकले सरकारमा रहने नरहने लगायतका आगामी कार्यदिशाबारे थप छलफल गर्ने नाउपाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्