Logo

यी १५ व्यक्ति जो नक्कली शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा छन्



काठमाडौं,४ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले हालसम्म १५ जना आरोपितलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीले आज नेपाल हज समितिका अध्यक्ष शमसेर मिँया पक्राउ गरेसँगै यो संख्या १५ पुगेको हो ।

नक्कली शरणार्थी प्रकरणमा एमालेका निलम्बित पार्टी सचिव टोपबहादुर रायमाझी देखि नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खांणसमेत रहेका छन् ।

पक्राउ परेकाहरुलाई प्रहरीले सरकारी वकिलको रोहवरमा बयान लिएको छ भने हिजो थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमती लिएको छ ।

हालसम्म को को पुगे प्रहरी हिरासतमा

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका मध्ये हालसम्म १५ जना प्रहरी हिरासतमा पुगेका छन् जसमा दुई पूर्वमन्त्री देखि नेपाल सरकारका सचिवसमेत रहेका छन् ।

हालसम्म प्रहरी हिरासतमा पुग्नेहरुमा नेपाली कांग्रेसका नेताद्धय बालकृष्ण खांण र आङटावा शेर्पा रहेका छन् । जसमा खांण पार्टीका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री हुन् भने शेर्पा २०७० को संविधानसभा सदस्यमा रामेछाप १ बाट निर्वाचित भएका थिए ।

त्यस्तै नेकपा एमालेका नेता तथा सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, प्रहरी हिरासतमा छन् भने पक्राउपूर्जी पारी भएका तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतिक थापा फरार रहेका छन् ।

त्यस्तै तत्कालीन गृहसचिव टेकनारायण पाण्डेपनि हाल प्रहरी हिरासतमा रहेका छन् ।

प्रहरी हिरासतमा पुग्ने अन्य व्यक्तिहरुमा खांणका नीजि सचिव नरेन्द्र केसी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, सागर राई, टंकबहादुर गुरुङ, केशव दुलाल,शमसेर मिँया र सानु भण्डारी रहेका छन् । पक्राउ पुर्जी जारी गरिएका अन्य दुईजना फरार छन्।



प्रतिक्रिया दिनुहोस्