काठमाडौं, ५ जेठ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले नक्कली भुटानी शरणार्थी प्रकरण तत्कालीन प्रधानमन्त्रीको संलग्नता नभई हुनै नसक्ने बताएका छन् । हिजो (बिहिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यो प्रकरणमा तत्कालीन प्रधानमन्त्रीमाथि पनि छानविन हुनुपर्ने बताएका हुन् ।
‘प्रधानमन्त्रीको विना उपस्थिति यो सम्भव नै छैन । जुनजुन बेलाको हो त्यसलाई छानविनमा ल्याउन पर्छ कि पर्दैन् । कुन–कुन बेला गए शरणार्थीहरु रेकर्ड छदैँछ । रेकर्ड छ त त्यहीबाट छानविन गरे हुँदैन ? उजुरी र बयानको आधारमा मात्रै छानविन गरेर बस्ने हो ?’– उनले प्रश्न गरे ।
उजुरीको वरिपरीमात्रै छानविनलाई सिमित राउन नहुने उनले बताए । यो प्रकरणमा अहिले वयान परिवर्तनको अभ्यास भइरहेको उनको आरोप छ । ३० देखि ३५ हजार भुटानी शरणार्थी भएको रेकर्ड नेपालसँग रहेको अवस्थामा लाखौं मान्छे भुटानी शरणार्थी बनेर अन्य देशमा गएको उनको दाबी छ ।
साथै, क्यान्टोनमेन्ट घोटलाको छानविन गर्न आवश्यक रहेको नेता साहको भनाई छ । प्रधानमन्त्रीले संसद्मा साहश देखाएर क्यान्टोनमेन्ट छानविनको बारेमा बोलेको उनले बताए ।
‘आज प्रधानमन्त्रीजीले भन्नुभयो, म यसमा दुधको दुध पानीको पानी दुनियाँलाई देखाउन चाहन्छु । यो धेरै पोजेटिभ कुरा हो । प्रधानमन्त्रीले आँट गर्नु, म पनि आफ्नै टाउकोमा आगो बाल्छु र दुनियाँलाई आश्वस्त पार्छु । यदि गल्ती हो भने म आफू भोग्न तयार छु भन्नु भएको छ । उहाँको यो स्प्रिटलाई म उच्च सम्मान गर्न चाहन्छु,’– उनले भने ।
प्रधानमन्त्री प्रचण्डले विभिन्न समयमा भएका भ्रष्टाचारको छानविन गर्न आवश्यक रहेको उनले बताए । यदि प्रचण्डले भ्रष्टाचार छानविन गर्न नसकेको खण्डमा उक्त कुर्सीमा बस्ने अधिकार नभएको उनले बताए ।