Logo

सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा



काठमाडौं, ५ जेठ । सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रममा विशेष पर्यटन वर्ष मनाउने घोषणा गरेका हुन्।

संवत् २०८० को दशकलाई नेपाल भ्रमण दशकका रूपमा मनाएर र सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाइने नीति तथा कार्यक्रममा भनिएको छ। कोरोना महामारीबाट शिथिल बनेको मुलुकको पर्यटन विस्तारै लयमा फर्किरहेको छ। सन् २०२३ को हरेक महिना झण्डै प्रति महिना एक लाख विदेशी पर्यटक आइरहेका छन्।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को चार महिनाको अवधिमा तीन लाख २६ हजार पाँच सय २७ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यसअघि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको शुभारम्भ गरे पनि महामारीका कारण उक्त कार्यक्रम स्थगित भएको थियो।



प्रतिक्रिया दिनुहोस्