काठमाडौं, ५ जेठ । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले सहमति जुटाउन समय मागेपछि सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तारको काम आज रोकिएको छ।
मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले नागरिक उन्मुक्ति पार्टीले भोलि शनिबारसम्म समय मागेकाले आज मन्त्रिपरिषद् विस्तारको काम रोकिएको बताए। शाहीले भने, “नागरिक उन्मुक्तिले भोलि १० बजेसम्मको समय मागेको छ, उहाँहरूको निर्णयपछि मन्त्रिपरिषद् विस्तार हुनसक्छ।”
शाहीले विस्तार हुनलागेको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट शिवराज भट्ट वा पृथ्वीबहादुर सिंहमध्ये एक जना र नेकपा (माओवादी केन्द्र)बाट रमेशसिंह धामी र झपटबहादुर बोहराको नाम आएको बताए। माओवादी केन्द्रकै गीतादेवी मालको नाम राज्यमन्त्रीका लागि आएको छ। नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बन्नेको नाम आउन बाँकी छ।
यसअघि आजै बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी गराएका थिए।
प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका प्रमुख सचेतक खुशीराम चौधरीले पार्टीभित्रको आन्तरिक छलफल र सत्ता गठबन्धन दलसँगको छलफलसमेत टुङ्गिन बाँकी रहेको बताए। आफूहरूले दुई मन्त्रालयमा मागेको उनले बताए।
गत मङ्सिरको निर्वाचनको नतिजासँगै राजनीतिक समीकरणमा भएको फेरबदलले प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी सम्मिलित प्रदेश सरकार गठन भएको थियो।