Logo

नीति तथा कार्यक्रम : कांग्रेस प्रमुख सचेतक लेखकका एजेण्डाले पाए प्राथमिकता



काठमाडौं, ६ जेठ । प्रतिनिधीसभा निर्वाचनमा दोधारा चादँनी सुक्खा बन्दरगाहका साथै नेपाल–भारत र चीनको त्रिदेशीय नाका बनाउने कांग्रेस प्रमुख सचेतक रमेश लेखकको चुनावी एजेण्डाले आगामी वर्षको नीति तथा कार्यक्रममा प्राथमिकता पाएको छ।

सरकारको आगामी नीति तथा कार्यक्रममा लामो समयदेखि अल्झिएको दोधारा चादँनी सुक्खा बन्दरगाह तीन वर्षमा निर्माण गर्ने र महाकाली करिडोर प्राथमिकताका साथ अघि बढाउने उल्लेख छ।

२०६४ सालमा कञ्चनपुरको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माण प्रस्ताव भएपनि हालै सरकारले उक्त योजनाको प्रभाव मुल्याङ्कन ‘ईआईए’ प्रतिवेदन प्रस्ताव स्वीकृत गरेको थियो।

महेन्द्रनगरबाट प्रतिनिधिसभामा निर्वाचित सांसद् तथा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुक्खा बन्दरगाह निर्माणस्थलको केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई निरीक्षण गराउनुका साथै निर्माण अघि बढाइदिन आग्रहसमेत गरेका थिए।

प्रधानमन्त्री दाहाललेपनि अढाई महिनाअघि सुक्खा बन्दरगाह निर्माणस्थलको निरीक्षण गर्दै प्रक्रिया अघि बढ्ने आश्वासन दिएका बेला सरकारले नीति तथा कार्यक्रममै समावेश गरेपछि महेन्द्रनगरका नीजि क्षेत्रका साथै स्थानीयवासी हर्षित बनेका छन्।

सरकारले शुक्रबार घोषणा गरेको आगामी वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमको बुदा नं. ६० मा तीन वर्षभित्र दोधारा चादँनी सुक्खा बन्दरगाह निर्माण गरिने उल्लेख छ भने महाकाली करिडोर निर्माणलाई पाथमिकतामा राखिने विषय बुदा नं. ७५ मा उल्लेख छ।

महेन्द्रनगरको दोधारा चादँनी नगरपालिका–१, २ र ३ मा पर्ने मायापुरी र गौरीशंकर मध्यवर्ती सामुदायिक वनमा निर्माण हुनेछ। एकीकृत सुरक्षा जाँच चौकीसहित सुक्खाबन्दरगाह निर्माण भारतले निर्माण गरिदिने गरी प्रक्रिया अघि बढिरहेको छ।

सरकारले इआइए स्वीकृत गरेसंगै भारतमार्फत हुने अन्र्तराष्ट्रिय व्यापार सहजीकरणका लागि बन्दरगाह निर्माणको प्रक्रिय अघि बढेको हो भने सरकारले उक्त प्रक्रिया अघि बढाउन चालु आर्थिक वर्षमा एक अर्ब बजेटसमेत विनियोजन गरेको थियो।

महेन्द्रनगरको गौरीशंकर सामुदायिक वनको ११७ हेक्टर वन क्षेत्रमध्ये ६३ हेक्टर जग्गा आयोजनको तयारी कार्य सुरु गर्न मन्त्रिस्तरबाट स्वीकृत भएको हो। सुक्खाबन्दरगाहका लागि दुई वटा सामुदायिक वनको २८० बिघा जमिन प्रस्तावित छ।

भारतले सुख्खाबन्दरगाह निर्माण गरिदिने विषय अघि बढाएको छ र (एमओयु) समझदारीमा हस्ताक्षरका लागि दुई देशबाट पहल भइरहेको सेचतक लेखकले बताए। सुक्खा बन्दरगाहको ‘डिपीआर’ अहिले भारतले बनाइरहेको उनले बताए।

त्यसैगरी, कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिंकरसम्म पुग्ने महाकाली करिडोर निर्माण भइरहेको र वनको रुख कटान लगायतका सरकारी प्रक्रियागत अल्झन्ले ढिलाई भएको करिडोर अन्तर्गत पर्ने रुख कटान आदेश दिन सरकारले पहल गरिसकेको उनले जानकारी दिए।

नेपाल–भारत र चीनसित जोड्ने र त्रिदेशीय नाकाका रुपमा विकास गर्ने अवधारणाका साथ अघि बढेको करिडोरको ६० प्रतिशत ट्रयाक खुलेको र महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका प्रमुख लक्ष्मण जोशीले करिडोरको काम द्रुत गतिमा अघि बढेको जानकारी दिए।

करिडोर अन्तर्गत ४२५ किलोमिटर ट्रयाक मध्ये केही भाग दार्चुला क्षेत्रमा नेपाली सेनाले ट्रयाक खोलिरहेको छ।

त्यसैगरी मझगाउँ विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउन समेत प्रमुख सचेतक लेखकले काठमाण्डौंमा दौडधुप गरिरहेको लेखको सचिवालयले जनाएको छ ।

‘विमानस्थलको काम द्रुत गतिमा अघि बढाउन प्रधानमन्त्री र पर्यटन सचिबसित पनि लेखकको भेट भएर अघि बढिसेकेको छ,’ सचिवालय भन्यो, ‘यहाँ चुनावीका बेला मतदातालाई दिएका वचनलाई साकार पार्न अग्रसर छौं।’

त्यसैगरी कञ्चनपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेश मल्लले सुक्खा बन्दरगाह निर्माण र करिडोर बने सुदूरपश्चिमको आर्थिक समृद्धिका लागि ढोका खुल्ने बताएका छन्। ‘त्रिदेशीय नाका रुपमा विकास गरेर आर्थिक नाका बनाउने विषय नीति तथा कार्यक्रममै समेटिएपछि अब निर्माणले गति पाउनेमा आशावादी छौं,’ मल्लले भने।



प्रतिक्रिया दिनुहोस्