साहित्यकार कलानिधि दाहालको जन्म ओखलढुङ्गाको बिगुटक्सारमा भएको हो। नेपालीबाट एमएसम्म अध्ययन गरेका दाहालको नेपाली साहित्य क्षेत्रमा धेरै कृति प्रकाशित छन्।
दाहालको प्रथम कृति स्वदेश गौरव(रचना) हो भने क्रमश: गौरवमय नेपाल(कवितासङ्ग्रह), केहीकवि : केही कविता(सहलेखन), सीमा वासु(खण्डकाव्य), विभाजित विश्व(महाकाव्य), अरस्तुदेखि बङ्करसम्म(उपन्यास), कलानिधिका चुनिएका कविता (गद्यकवितासङ्ग्रह), शिखर यात्रा(निबन्धसङ्ग्रह), आफैँ भए सुन्दर(पद्य कवितासङ्ग्रह), अस्तित्व(बाछिटासङ्ग्रह) बजारमा पाउन सकिन्छ। यस्तै उनी एक उपन्यास, तीनवटा पद्य कवितासङ्ग्रह र एक निबन्धसङ्ग्रह प्रकाशनको तयारीमा रहेको छ।
साहित्यकार दाहालसँग गरिएको अन्तर्वाताको केही अंश :
-यहाँको साहित्य लेखन कहिलेबाट सुरू भयो ?
मेरो साहित्यलेखन ३० को दशकबाट भएको हो । विक्रम सम्वत् २०३४ देखि निरन्तर प्रकाशित रूपमै देखा परेँ ।
-कसबाट र कसरी प्रभावित हुनुभयो ?
व्यक्तिबाट नभई सुरू/सुरूमा म आफ्नै परिस्थिति र परिवेशको धक्काबाट यस क्षेत्रमा हुत्तिएको हुँ । ठूलो परिवार, आर्थिक अभाव र शिक्षाबाट सहज रूपले वञ्चित हुनुपर्दा त्यसकै आर्जनमा कठोर सङ्घर्षका पाइला चाल्नुपर्ने अवस्थाबाट उत्पन्न अन्तर अनुभूतिको उपज नै मेरो साहित्यिक यात्राको प्रस्थानविन्दु हो ।
-कसरी बढिरहेको छ त लेखन गतिविधि ?
बिहान उठेदेखि बेलुकी नसुतुन्जेल । म अघिपछि पनि लेखि नै रहने गर्छु त्यसमा पनि विगतको लामो लकडाउनले त संस्कार नै बसाइदियो । यो लेखनप्रतिको निरन्तरताचाहिँ म जतिसुकै व्यस्त हुँदा पनि रहिरह्यो । म ठान्छु– यो साहित्यिक यात्रा मेरा लागि सुखद पक्ष हो ।
-वर्तमान लेखनप्रति सन्तुष्ट हुनुहुन्छ ?
एउटा लेखक आफ्नो लेखनप्रति सन्तुष्ट नरहे त लेख्न नै छाडिहाल्छ । सन्तुष्टि र असन्तुष्टि त प्राप्तिको चाहना राख्नेका लागि मात्र देखिने वा जन्मने कुरा हुन् । म प्राप्तिको चाहना नै राख्दिनँ भने त्यहाँ असन्तुष्टिको प्रश्न नै जन्मँदैन ।
-कुनै नयाँ कृतिको तयारीमा हुनुहुन्छ कि ?
अहिले म केही मान्यजनहरूका पाँच÷सातवटा केही ठूला र केही मझौला कृति सम्पादनमा व्यस्त छु र आफ्नो ठूलो आयामको उपन्यास टुङ्ग्याउनेतिर लागिपरेको छु ।
-साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
मेरो स्पष्ट धारणा छ– साहित्यकारको कुनै राष्ट्र हुँदैन र राष्ट्रको साहित्यकार हुँदैन । विराट् विश्व नै उसको राष्ट्र हो भने एउटा सिंगो साहित्यकार नै विराट् विश्वको सम्पत्ति हो । आफैँ आफ्ना लागि जिम्मेवार हुन कहिल्यै नसकेको नेपाल सीमाभित्रको भ्रष्टाचारी सरकारको कुरै नगर्नोस् ।
-तपाईंको साहित्यिक आदर्श के हो ?
मेरो साहित्यिक आदर्श भनेकै म जे लेख्छु– व्यवहार त्यस्तै होस्, म जे बोल्छु–मेरो गतिमा एक इन्च पनि भिन्नता नरहोस् भन्ने हो । लेखन र बोली/व्यवहार भिन्न वा अलग देखिन्छ भने चाहे जतिसुकै राम्रो साहित्य लेखोस् मेरो मान्यतामा ऊ साहित्यकार होइन– ढोँगी वा बक्बासे हो ।
-वर्तमानमा नेपाली लेखकले आफ्नो लेखकीय दायित्व वहन गरिरहेका छन् त ?
छैनन् । स्वार्थ, ग्रुपिजम, सत्ताको चम्चागिरी, दासताको लेखनसिबाय समसामयिक धाराका कविमा केही देखिन्न । अझ मसिनोमा जानुहुन्छ भने यौन विकृतिका बजार नै बन्न पुगेका छन् अहिलेका नेपाली साहित्य लेखन र यसका नाममा खोलिएका संस्था र झिना÷मसिना अपवादलाई छाडेर ।
-तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?
एकदम । असन्तुष्टि नै नभएका मान्छेलाई सन्तुष्टिको सवाल नै रहन्न ।
-साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
हिजोको साहित्यिक लेखन समर्पणमा थियो, कलात्मक मूल्यमा थियो । आजको लेखन हल्ला, बक्बास अनि रहरमा छ, केही पनि नगरिकन नाक घोक्य्राइको सतह स्वाङ्मा छ ।
-तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
जीवन र जगत्को, कलात्मक मूल्य विस्तारको, प्राकृतिक उछालमा लगेर जीवनलाई अन्तर्भूत गराउँदै भएको भन्दा उत्कृष्ट आदर्शमा समाहित मनले, वचनले, कर्मसमेतले गराउन सक्ने मार्गदर्शनको यात्रा नै साहित्य हो । यो मेरो, तेरो नभई सच्चा साहित्यको गन्तव्य हो । साहित्यमा अलग धार–विचार हुँदैन, एउटै हो ।
-लेखनप्रति केले प्रेरणा दिन्छ जस्तो लाग्छ ?
म र मेरो बाट भिन्न समग्रताको अन्तर आभास नै लेखनको प्रेरक तत्त्व हो । आलम्बकका रूपमा परिवेश आउन सक्छ, पारिवारिक वा व्यक्ति परिधि आउन सक्छन् तर झिनो रूपमा जन्मजातको अंशचाहिँ अपरिहार्य छ ।
-तपाईंको लेख्ने निश्चित समय छ कि ?
छैन– म जुनसुकै बेला पनि लेखिरहन्छु तर एकाग्रताको अनुपम प्राप्तिचाहिँ–बिहान चारदेखि दश बजेसम्म र दिउसो दुई बजेपछि ।
-लेख्न कस्तो वातावरण चाहिन्छ ?
लेखनप्रतिको समर्पण भएपछि नयाँ सडकको हल्ला र आर्यघाटको शान्तिमा केही फरक हुन्न ।
-लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
सृष्टि छानेर भएको होइन, मान्छे छानिएर जन्मन्न । जीवन र जगत्का बीच यतिविधि विषयवस्तु छन् प्रतिभा खन्याउनोस् जुनसुकैमा पनि संसार उत्रन्छ । नभए जतिसुकै छान्नोस् केही पनि हुन्न ।
-सफल स्रष्टाका आवश्यक गुण के/के हुन् ?
समर्पण, साधना, एकाग्र विश्वास, विराट् विश्वको चिन्तन, मानवीय÷उच्च प्रजातान्त्रिक मूल्यबोध ।
-साहित्यमा कुन विधाका पाठक बढी भएको महशुस गर्नुहुन्छ ?
महशुसको कुरा होइन– सबैको सत्य हो– कविता तर क्रयविक्रयको प्रश्न राख्नु भएन यो बडो सुन्दर कुरा हो । साहित्य क्रयविक्रयको विषय होइन । हुल्लडबाजहरू मेरा कृति यति विक्री भए उति विक्री भए भनेर हल्ला फिजाउँछन्– ती साहित्यकार नभएर व्यापारीचाहिँ हुन् । कुनै मूल्य नै नभएको भिन्चीको मोनालिसा हरेकका ओठमा छ तर संसारको शाश्वत र मूल्यवान् अन्तिम रात्रिभोज कतिलाई थाहा छ ?
-सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?
कल्पना कला हो अनिवार्य आवश्यकताको । जति कल्पना गर्नोस् शून्यमा साहित्य लेखिन्न । जीवन र जगत्का ठोस विषयवस्तुलाई तरलीकरण गर्दै कलात्मक उचाइ दिने काम कल्पनाको हो । यसैले दुवै अनिवार्य छन् ।
-लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?
यसको बेला हुन्न, जतिबेला पनि ।
-नयाँ लेखकलाई केही सुझाव दिनुहुन्छ कि ?
सुझावले साहित्यकार बन्दैन तर समाधिरत अध्ययन, अझ बढी लेखन, भौतिक विलासितारहित उदार मनोलोकको निर्माण अनिवार्य छ ।
-किन कोही स्रष्टा दलको झण्डामुनि ओत लाग्ने रहर गर्छन् ?
यी साहित्यकार होइनन् । भौतिक सम्पन्नतामा रमाउने यथास्थितिका भाट हुन् ।
-अन्त्यमा केही भन्न छुटेको भए…
जति भने पनि सकिन्न । उग्र ज्वारहरू छन्– मसँग भन्नुपर्ने, आजलाई यत्ति गरौँ ।