Logo

सरकारको नीति तथा कार्यक्रममा निजी क्षेत्रको सुझाव सम्बोधन भएनः डा. सुवोधकुमार गुप्ता



काठमाडौं, ७ वैशाख । सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमहरु सार्वजनिक गरिसकेको छ । सरकारका नीति तथा कार्यक्रमलाई लिएर अर्थविद्, राजनीतिज्ञ, योजनाविद् र नीजि क्षेत्रसँग संलग्न व्यक्तित्वहरुले आलोचना गरिरहेका छन् । यसैबीच आज (आईतबार) रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको सभापतित्वमा भएको ‘सरकारका नीति तथा कार्यक्रमबारे साक्षत्कारमा सहभागी अर्थविद्हरुले नीति तथा कार्यक्रमबारे चिरफार गरेका छन् ।

उनीहरुले सरकारकाले नीति तथा कार्यक्रमलाई कोरा–कल्पनाको संज्ञा दिएका छन् । सरकारले विरोधाभाषपूर्ण नीति तथा कार्यक्रम ल्याएको उनीहरुको आरोप छ । सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम नेपालको माटो सुहाउँदो नभएको र यसले तत्कालीन समस्यालाईसमेत सम्बोधन गर्न नसक्ने उनीहरुको दाबी छ ।

उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा व्यापार समितिका सभापति डा. सुवोधकुमार गुप्ताले अहिलेको आर्थिक समस्याको समाधानको लागि अर्थमन्त्रालय, राष्ट्र बैंक र सरोकारवाला विभिन्न निकायबीच समन्वयको अभाव रहेको औंल्याए । यसको अभावमा अहिले आवश्यक नीति आउने कुरा कल्पना गर्न नसकिने उनको भनाई छ ।

‘देशमा अर्थमन्त्रालय, राष्ट्र बैंक र विभिन्न निकायहरुबीचमा समन्वयको अवस्था यस्तै रहेको अवस्थामा देशले र आम जनताले चाहेको र उद्योगीहरुले चाहेको देशमा मौद्रिक नीति तथा देशले चाहेको नीतिहरु आउनसक्ने सम्भावनाहरु कम छ,’– गुप्ताले भने ।

देशका सम्पूर्ण स्टेकहोल्डर्सले देश विकासलाई एजेण्डा बनाएर मौद्रिक नीति ल्याउनुपर्ने उनले बताए । हरेक क्षेत्रमा प्राविधिक जनशक्ति विकासका लागि संस्थाहरुको विकास गर्न निजी क्षेत्रले सुझाव दिएपनि सरकारले त्यसलाई सम्बोधन गर्न नसकेको उनको गुनासो छ । देशका निजी क्षेत्रलाई जोड्न नसकेको खण्डमा देशमा कृषि क्रान्ति सम्भव नहुने उनले बताए । आगामी दिनमा किसानलाई निजी क्षेत्रसँग जोड्ने नीति नेपाल सरकारले ल्याउनुपर्ने उनको सुझाव छ । अहिले आएको नीति तथा कार्यक्रम नेपालको माटो सुहाउँदो नभएको उनको टिप्पणी छ ।



प्रतिक्रिया दिनुहोस्