काठमाडौं,८ जेठ । इन्डीयन प्रिमियर लिग (आइपीएल)को यो सिजनको प्लेअफमा पुग्ने चार टिमको टुंगो लागेको छ । हिजो भएको खेलमा साविक विजेता गुजराट टाइटन्सले रोयल च्यालेन्र्जस बेंग्लोरलाई पराजित गरेपछि अन्तिम चारको टुंगो लागेको छ ।
शुभमान गिलले शतक प्रहार गरेपछि आइपिएल २०२३ को अन्तिम लिग खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले पराजित गरेको हो। बेंग्लोरमा घरेलु टिमले दिएको १९८ रनको लक्ष्य गुजरातले १९।१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
उसका लागि गिलले नटआउट १०४ रन जोडे। त्यसअघि विराट कोलहीले १०१ रन जोडेपछि बेंग्लोरले ५ विकेटको क्षतिमा १९७ रन जोडेको थियो।
हारसँगै बेंग्लोर बाहिरियो भने मुम्बई इन्डियन्सले प्लेअफमा स्थान बनायो। अंक तालिकाको चौथो स्थानमा रहेको मुम्बईले लिग चरणको सबै खेल खेल्दा १६ अंक जोड्यो।
शीर्ष स्थानको गुजरात टाइटन्स, दोस्रो स्थानको चेन्नई सुपरकिंग्स, तेस्रो स्थानको लखनउ सुपर जायन्ट र मुम्बईले प्लेअफमा स्थान बनाए।
शीर्ष स्थानको गुजरात र दोस्रो स्थानको चेन्नईबीच क्वालिफायर हुनेछ। जित हात पार्ने टिम फाइनल पुग्नेछ भने पराजित हुने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ।