Logo

ओलीलाई माओवादी सांसद पौडेलको चुनौतिः ‘हामी छक्का हानेर सरकारको नीति तथा कार्यक्रम पास गराउँछौं’



काठमाडौं, ८ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम देशको अर्थ प्रणालीलाई मध्यनजर गरेर आएको दाबी गरेका छन् ।

आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै पौडेलले सरकारको नीति तथा कार्यक्रमले देशको अर्थतन्त्र लयमा फर्कने विश्वाससमेत व्यक्त गरे । साथै, सरकरको नीति तथा कार्यक्रममा आफ्नो दृढतापूर्वक समर्थन रहेको पनि उनले प्रष्ट पारे ।

‘अहिलेको प्रतिकूल परिस्थितिमा रहेको विश्वको अर्थ प्रणाली र नेपालको अर्थ प्रणालीको बीचबाट देशको अर्थ प्रणालीलाई जोगाउने गरी यो नीति कार्यक्रम, विनियोजन विधेयकको सिद्दान्तहरु र त्यसपछि बजेट आउँछ भन्ने कुरामा विश्वस्त छु । लयमा नै हामी अगाडि बढ्ने विश्वास म यहाँहरुलाई दिन चाहन्छु र सरकारले त्यो प्रतिवद्दता व्यक्त गरेको हुँदा सरकारले ल्याएको यो कार्यक्रमलाई म दृढतापूर्वक समर्थन गर्न चाहन्छु,’– पौडेलले भने ।

प्रमुख प्रतिपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा सम्बोधनका क्रममा सरकारका नीति तथा कार्यक्रम पास गर्न नदिने उद्घोष गरेपनि त्यो सम्भव नरहेको उनको भनाई छ । अहिलेको सरकार गठबन्धनको रहेकाले गठबन्धनका दलहरु ओलीको ह्वीप मान्न तयार नहुने पौडेलको भनाई छ ।

‘यो छक्का हानेर फेल गर्ने कुरा पनि पूर्व प्रधानमन्त्रीजीले गर्नुभयो । रमाईलो पनि थियो सुन्दाखेरी, मैले बाहिर गएर पनि सुने, यहाँ पनि सुने । तर, यो गठबन्धन हो । म के भन्न चाहन्छु भने उहाँको ह्वीप चाहिँ सबै दलले मान्ने स्थिति छैन । छक्का हानेर, गड्गडाएर, ताली हानेर हामी यो नीति कार्यक्रम पास गर्छौं । यो सरकारले ल्याएको कार्यक्रम हो, सरकार बहुमतको छ । त्यसकारण तर्कका लागि तर्क होइन, हामी यथार्थमा वहस गरेर अगाडि बढ्न जरुरी छ,’– पौडेलले भने ।



प्रतिक्रिया दिनुहोस्